कोरोनाका लागि तयार छैनन् पोखराका अस्पतालहरु : साझा पार्टी

Share:

रेम बिक
पोखरा, ९ चैत । कोरोनाको सन्त्राष फैलिरहेको अवस्थामा साझा पार्टीले पोखराका विभिन्न अस्पतालहरुको तयारीको विषयमा जानकारी लिएको छ । उसले कोरोना भाइरसका विरामी आएको खण्डमा पोखराका अस्पतालहरु उपचार गर्नका लागि तयार नभएको निष्कर्श निकालेको छ ।

साझा पार्टीले यो अवस्थालाई निकै नाजुक बताएको छ । खासगरि कोरोनाका लागि हरेक अस्पतालमा आइसोलेसन वार्ड बनाएको स्थानिय तथा प्रदेश सरकारले दाबी गरिरहेको अवस्थामा साझा पार्टीले भने स्थिती सोँचेजस्तो नरहेको बताएको हो ।

आईतबार साझा पार्टीको केन्द्रीय सदस्यसहित गण्डकी प्रदेश र जिल्ला सँयोजकसहितको टोलीले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मनिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पताल लगाएतमा प्रत्यक्ष पुगेर सोधखोज गरेको थियो । र, अधिकांश अस्पतालमा भनेजस्तो तयारी नदेखिएको टोलीको निष्कर्श छ ।

साझा पार्टीका केन्द्रीय सदस्य सुशिला केसी अधिकारीको नेतृत्वमा टोली अस्पतालहरुमा पुगेको थियो । टोलीमा अर्का केन्द्रीय सदस्य रजनी केसी र कास्की जिल्ला सँयोजक अर्जुन खनाल रहेका थिए ।

‘हामी हरेक अस्पतालमा गयौँ । त्यहाँ कुनै पुर्वतयारी देखिएन । बरु संक्रमित आएको खण्डमा भाग्नुको विकल्प छैन । हामीसँग न मास्क छ, न कुनै उपकरण छन् भनेर उल्टै चिकित्सकहरु त्रसित भएको पायौँ ।’ साझा पार्टीका केन्द्रीय सदस्य सुशिला केसी अधिकारीले भनिन् ।

त्यसो त स्वास्थ्य निर्देशनालयका निर्देशकले भने यो प्रदेशमा सम्पूर्ण रुपमा तयारी भएको दाबी गरेको उनले बताईन् । यद्यपी छेऊकै अस्पतालमा भने चिकित्सकहरुले संक्रमित आएको खण्डमा आफ्नै सुरक्षा गर्ने आवश्यक सामाग्री पनि सरकारले उपलब्ध नगराएको गुनासो गरेको टोलीले भेट्यो ।

टोलीकै अर्का सदस्य साझा पार्टीका कास्की जिल्ला सँयोजक अर्जुन खनालले त अझै संक्रमित आशंका गरिएका विरामीहरुलाई खुलमखुल्ला अन्य विरामीहरुसँगै राखेर उपचार गरिएको आफूले देखेको दाबी गरे । ‘अस्पतालमा उपचार गर्न जाने की संक्रमण फैलाउन जाने ? यो त झन् खतरा पो भयो ।’ खनालले भने–‘यो विषयमा सरकार र सम्बन्धित निकायहरुले बेवास्ता गरेको देखियो ।’

साझा पार्टीको टोलीले सरकारसँगै सम्बन्धित निकायलाई यस विषयमा अझ बढि सचेत हुन सुझाव समेत दिएको छ । सरकारले आवश्क तयारी गरिरहँदा चाहिने स्वयंसेवी सहयोगी हातहरु अगाडि बढाउन साझा पार्टी सँधै तयार रहेको टोलीले बताएको छ ।

साथै साझा पार्टीले सम्पूर्ण प्रदेशहरुमा जस्तै गण्डकी प्रदेशमा पनि मास्क तथा सेनिटाइजर वितरणलाई तीव्र पारेको छ । साथै सम्पूर्ण मिडियाहरुमार्फत कोरोना विरुद्धको जनचेतनामुलक सन्देश प्रवाहलाई चुनावको बेला भन्दा अझै बढि सक्रियतापुर्वक गरिरहेको साझा पार्टीले दाबी गरेको छ । साथै पार्टीले सर्वसाधारणलाई संयमित अनि सतर्क रहन आग्रह समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: