लकडाउन थप गर्न सिफारिस, वैशाख ३ सम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

Share:

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन थप्न सरकारलाई सिफारिस गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतबार बसेको समितिको बैठकले थप ७ दिनसम्म लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो ।

तर, कति अवधि थप्ने भन्ने निर्णय आजै बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने जनाइएको छ। नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकाले समितिले लकडाउनको अवधि थप्ने निर्णय लिएको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो।

यस्तै, समितिले हवाई उडानमा लगाइएको प्रतिबन्ध अझै वैशाख पहिलो सातासम्म लम्ब्याएको छ । अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात् आगामी वैशाख ३ गतेसम्म लम्ब्याइएको हो।

यसअघि सरकारले घोषणा गरेको अन्तराष्ट्रिय उडानमाथिको प्रतिबन्ध (चैत ९) गत आइतवारको मध्यरातीबाट लागू भएको थियो । अब वैशाख ३ पछि मात्रै अन्तर्राष्ट्रिय हवाई उडान फुकुवाको निर्णय लिइनेछ।

कमेन्ट गर्नुहोस्
Share: