
काठमाडौं । कोरोना संक्रमणको पछिल्लो अवस्थालाई ध्यान दिँदै सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को तहमा जान नदिने निर्णय गरेको हो ।
कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन शुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन फेरि थपेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।
यस्तै, कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा कोरोनाको परीक्षणलाई तीव्रता दिने निर्णय पनि सरकारले गरेको छ । ती जिल्लाहरुमा कोरोनाभाइरस संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएपछि बैठकले उक्त निर्णय गरेको हो ।
