
पोखरा । एन.आई.सी एशिया बैंकले दैनिक ज्याला मजदुरी गर्नेहरुलाई राहत वितरण गरेको छ । कावाश्वती नगरपालिका र पोखरा महानगरपालिकामा ज्याला मजदुरी गर्ने करिब १ सय ५० परिवारहरुलाई स्थानीय सरकारसँगको सहकार्यमा रू. २ लाख ५० हजारको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो ।
यस्तै २०७६ चैत्र २१ गते (शुक्रबार) एक कार्यक्रमकाबीच बैंकका गण्डकी प्रदेशस्थित उपप्रादेशिक कार्यालय प्रमुख अशोक पन्तले कावाश्वती नगरपालिकी प्रमुख श्री चन्द्रा पुनलाई रु ५० हजार बराबरको र आज (आइतबार) एक कार्यक्रमकाबीच बैंकको गण्डकी प्रदेश कार्यालय प्रमुख दिपेन्द्र शर्माले पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई रु २ लाख बराबरको उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।
स्थानीय सरकारहरुसँगको सहकार्यमा वितरण गरिको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न समस्या भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ । बैंकले यसअघि काठमाडौं तथा प्रदेश १ मा ज्याला मजदुरी गर्नेहरुका लागि रू. पाँच/पाँच लाख तथा सुदुरपश्चिम प्रदेशमा रू. ३ लाख ७५ हजार बराबरको खाद्यान्न सामग्री समेत वितरण गरिसकेको छ ।
यस विपतको घडिमा बैंकले आफ्ना आदरणीय ग्राहकहरुमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहकहरुलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरु पूरा गर्न पनि उत्प्रेरित गरेको छ । साथै ग्राहकहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा समेत बैंकले दिएको छ ।

