
भीरकोट । करुङ बयरघारी मुस्लिम युवा क्लब र करुङ बयरघारी मुस्लिम समाजले भीरकोट नगरपालीकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नगद रू ६० हजार जम्मा गरेको छ ।
वुधबार नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि रकम जम्मा गरेको करुङ बयरघारी मुस्लिम युवा क्लब अध्यक्ष मोहम्मद जुमाल अलिले जानकारी दिए । लकडाउनका कारण समस्यामा पर्दै गएका न्यूनवर्गीय परिवारहरुको समस्यालाई केहि हद सम्म समाधान गर्नका लागि उक्त रकम हस्तान्तरण गरेको उनले बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष अलिले ७५ विपन्न परिवारका लागि आवश्यकता अनुसारको खाद्यान्न सामाग्रीको व्यवस्था गरेर विप्पन्न परिवारलाई यथाशिघ्र हस्तान्तरण गरिदिन नगरपालिकालाई आग्रह गरे । विपत को यो घडिमा कसैको मुख नताकी हामी आफ्नै स्तर बाट सहयोग गरौँ भन्ने भावनाका साथ अघि बढेको क्लबलाई करूङ बयरघारी मुस्लिम समाज कतार र करूङ बयरघारी मुस्लिम समाजले विशेष सहयोग गरेको थियो । विपन्न परिवारको सहयोगार्थ चलाइएको उक्त अभियानमा क्लबलाई साथ दिने सबै प्रति सलाम समेत व्यक्त गरे । त्यस्तै कोरोना भाइरस बाट बच्न नेपाल सरकारले तोकेको समय अवधीभर कोह पनि बाहिर ननिस्किना तथा सरकारले जारी गरेको निर्देशनहरुको सहि पालना गर्न आग्रह गरे।
नगरपालीकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गरेको प्रति खुसि व्यक्त गर्दै भीरकोट नगर प्रमुख छायाराम खानालले उक्त रकमले यथाशिघ्र विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिने प्रतिवद्धता व्यक्त गरे । साथै सम्पुर्ण सहयोगीहरुले नगरपालिका संग हातेमालो गरेर अघि बढ्न आग्रह गरे ।
करूङ बयरघारी मुस्लिम समाज कतारले कुनै पनि आपत(विपतका बेला विभिन्न संघ संस्था तथा मृगौला पिडित, विपन्न वर्ग एवं धार्मिक क्षेत्रहरुमा समेत विशेष सहयोग गर्दै आएको छ । आज आयोजित कार्यक्रममा करूङ बयरघारी मुस्लिम समाजका अध्यक्ष नुरूल हक मियाँ, समाजका पदाधिकारीहरू, क्लबका पदाधिकारीहरू, युवा दाजुभाइ हरू, समाजसेवी हाजि जब्बार अलि मियाँ, इमान मोहम्मद ईसुफ मियाँ, मोहम्मद हनिफ, मज्बुन हसन, कतार समाजका प्रतिनिधि सफाईतुल मियाँको उपस्थिती रहेको थियो ।
