नयाँ वर्ष २०७७ साल आजबाट शुरु, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश

Share:

काठमाडौं । आज नयाँ वर्ष । २०७७ वैशाख १ । विक्रम संवत् अनुसार नयाँ वर्ष २०७७ साल आज (सोमबार)बाट शुरु भएको छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ ।

यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको छ । बंगलादेशमा त वैशाख १ लाई नै नयाँ वर्षको रुपमा मनाउने गरिन्छ ।
यस वर्ष कोरोना महामारीका कारण मुलुक लकडाउनको अबस्थामा रहेकाले सावधानीपूर्वक घर घरमै बसेर नयाँ वर्षलाई स्वागत गर्दै शुभकामना आदान प्रदान गरिंदै छ ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ को अबसरमा शुभकामना व्यक्त गरेकी छन् । साथै उच्च मनोबल र सकारात्मक सोचका साथ कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।
उनले कोभिड—१९ को रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नुपर्ने बताएकी छन् ।

‘लकडाउन’का कारण यसपटक नयाँ वर्ष मनाउने र हर्षोल्लास आदानप्रदान गर्ने कार्यमा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले नयाँ वर्षले राष्ट्रमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा आलीले नयाँ वर्षको शुभकामना सन्देशमा कोरोना भाइरसको महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं भन्ने कामना गरेका छन् ।

उनले भाइरसविरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको भन्दै एक्लाएक्लै उभिंदै सामाजिक दूरी कायम राखेर अदृश्य शत्रु– कोरोना भाइरसलाई छल्नुपर्छ भन्नेमा सचेत हुनुपर्छ भनेका छन् । शुभकामना सन्देशमा उनले सङ्कटको यस बेला सिङ्गो राष्ट्र एकताबद्ध छ भन्दै सबै राजनीतिक दलबाट प्राप्त साथ, समर्थन र रचनात्मक सुझावले सरकारलाई अझ उर्जा थपेको उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्
Share: