गण्डकी साहित्य सङ्गमको साधारणसभा तथा पुस्तक परिचर्चा

Share:

रञ्जन अधिकारी पोखरा, पुस ५ /गण्डकी साहित्य सङ्गम, पोखराको १२ औं साधारणसभा तथा पुस्तक परिचर्चा कार्यक्रम शनिबार पोखरामा सम्पन्न भयो । नारायण मरासिनी लिखित ‘हेडसरका कथाहरु’ लघुकथा संग्रह र डा. कृष्णराज अधिकारीले लेखेका ‘साहित्यिक अवलोकन’ पुस्तकको सोहि अवसरमा परिचर्चा गरिएको थियो ।

‘हेडसरका कथाहरु’ को परिचर्चा गर्दै परशुराम कोईरालाले ३९ लघु कथा संग्रहित पुस्तकमा नेपाली समाजको अवस्थालाई व्यंग्यात्मक तबरले चित्रण गरिएको जनाए । हेडसर प्रवृत्तिमा खेल्ने मनोवृत्तिहरुलाई प्रस्तुत गर्ने जमर्को गरेपनि लेखक मरासिनी गहिराईमा पुग्न नसकेको महसुस आफूले गरेको टिप्पणीकर्ता कोईरालाको गुनासो छ । ‘लेखकले विकृति विसंगति मात्र देखाउने होईन, न्युनिकरणको पाटोलाई पनि बिर्सनु हुँदैन’ कोईरालाले भने– ‘कथा सुन्दर छन्, विषयवस्तु राम्रा छन् । अभिव्यक्तिहरु राम्ररी खुल्न नसकेको अनुभूति भयो ।’

यस्तै, ‘साहित्यिक अवलोकन’ पुस्तकको परिचर्चा गर्दै रघुनाथ अधिकारीले लेखक डा. कृष्णराज अधिकारीले दुई तिहाई पुरानै सिर्जनाहरुलाई समेटेर पुस्तक तयार पारेको जनाए । २४ रचना संग्रहित सो पुस्तकमा लेखकले कवि व्यक्तित्व, साहित्यिक कृतिका बारेमा व्यक्तिगत टिप्पणी र अनुभव समेटेको जानकारी गराउँदै धेरैमा आफू सहमत रहेको जनाए ।

कार्यक्रममा मानवअधिकारकर्मी तथा सङ्गमका सल्लाहकार टेकनाथ बराल, प्रा.डा. रविलाल अधिकारी, प्रा.डा. भवानी प्रसाद पाण्डे, पिताम्बर शर्मा, पोषराज पौडेल, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाट लगाायतले पछिल्लो क्रममा साहित्यिक गतिविधिमा सङ्गम सुस्ताएको भन्दै क्रियाशील भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । सो अवसरमा हरिलाल तिमिल्सिना, चिन्तु गिरी लगायतले कविता वाचन गरेका थिए ।

सङ्गमका अध्यक्ष नारायण परिश्रमीको अध्यक्षतामा भएको साधारणसभामा सचिव राजेन्द्र पौडेलले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष नारायण मरासिनीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष डा. कृष्णराज अधिकारीले पेश गरेको विधान संशोधनको प्रस्तावलाई छलफल सहित आवश्यक संशोधन गरी पारित गरिएको सचिव पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: