पोखरेली गोर्खाज एवम गल्फरद्धारा १४६ जनालाई राहत वितरण

Share:

पोखरा । पोखरेली गोर्खाज एवम गल्फरद्धारा १४६ जना विपन्न, असहाय, अपांग तथा मजदुरहरुलाई मंगलवार राहत वितरण गरेको छ। कोरोना भाइरसको महामारीले मुलुक लकडाउनको अवस्थामा गोर्खाज र गल्फरहरुकोतर्फबाट पोखरा ९ न्युरोडस्थित गोर्खा एण्ड बराह ज्वेलरी तथा रेडियो गोर्खाली, पोखरा १० बुद्धचोकस्थित गोर्खाज बचत तथा ऋण सहकारी र पोखरा १४ मझेरीपाटनस्थित हिमालय गल्फ कोर्षमा राहत वितरण गरिएको हो ।

पोखरा गोर्खा कम्युनिटीका सदस्यहरु, द गोर्खाज बचत तथा ऋण सहकारी संस्था लि, गोर्खाली रेडियो १०६ मेगाहर्ज, गोर्खा एण्ड बराह ज्वेलेरी, ४÷१ गोर्खा राइफल, ब्रिगेड गल्फ सोसाइटी, बराह ज्वेलरी धरान, बराह ज्वेलरी काठमाडौं, बराह ज्वेलरी चितवन, नेपाल गल्फ संघ तथा कास्की गल्फ संघबाट संकलित राहत रकम मध्ये विपन्न तथा असहायलाई न्युरोडमा ६० परिवार, बुद्धचोकमा ५० परिवार र मझेरी पाटनमा ३६ परिवारलाई चामल, दाल, तेल, नुनु लगायतको राहत प्याकेज वितरण गरिएको गोर्खा कोभिड १९ राहत कोष संयोजक तथा गोर्खा कम्युनिटी पोखराका प्रमुख सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी दिए ।

यस अघि सोमवार मात्रै गोर्खाजहरुले गण्डकी प्रदेश सरकारलाई कोरोना नियन्त्रण कोषका लागि १ लाख १ हजार १११ रुपैया र पोखरा महानगरपालिकाको विपद व्यवस्थापन कोषका लागि लाई ५१ हजार १११ रुपैया हस्तान्तरण गरेको गोर्खा कम्युनिटी पोखराका सचिव क्या.चोकबहादुर गुरुङले जानकारी दिए ।

गोर्खा कोभिड १९ राहत कोष स्थापना गरी संकलित २ लाख ८५ हजार १०६ रुपैयाबाट लामो लकडाउन अवधिमा पनि कहिकतैबाट राहत प्राप्त नगरेका विपन्न, मजदुर, अपांग र गल्फकोर्षका कामदार तथा केडीहरुलाई राहत वितरण गरिएको गोर्खाली रेडियोका स्टेशन मेनेजर खिमा गुरुङले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्
Share: