गोकुल बानियाँ, पोखरा ६ पुष । तेह्रौ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता माघ २० गतेदेखि सुरु हुने भएको छ । आयोजक सहारा क्लब पोखराले आईतवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको मिति सार्बजनिक गरेको हो ।
फागुन २ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा नेपालका ए डिभिजन क्लब, बिदेशी टिमहरु, पूर्वाञ्चल र पश्चिमाञ्चलका क्लब तथा आयोजक गरी १२ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष बिरभद्र आचार्यले जानकारी दिए । प्रतियोगितामा बिजेता, उपबिजेता सहित बिभिन्न बिधामा उत्कृष्टलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पुरस्कार राशी र सहभागि टिमको नाम पछि सार्बजनिक गर्ने क्लबका महासचिब केशब बहादुर थापाले बताए ।
प्रतियोगिता सञ्चालनको लागि झण्डै ७३ लाख ३५ हजार खर्च लाग्ने र ९५ लाख ९७ हजार आम्दानी गरी २२ लाख ६२ हजार बचतको लक्ष्य राखिएको छ । प्रतियोगितालाई हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ । आयोजकका अनुसार पावर्ड वाईमा नोभा दुध , वेष्ट अफ फाईभ पुरस्कार प्रायोजकमा पृथ्बी राजमार्ग बस सञ्चालक समिति , फियर प्ले पुरस्कार प्रायोजकमा ईमोन क्याफे रहेको छ ।
पोखरा उपमहानगरपालिकाको संयोजन , सहारा क्लब हङकङ, सहारा युके, कास्की जिल्ला खेलकुद बिकास समिति , पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति, एन्फा कास्की , राखेपले सहयोग गरेको प्रतियोगिताको प्रबद्र्धन नेपाल पर्यटन बोर्डले गर्नेछ । २०५८ सालमा सुरु क्याराभान गोल्डकप सहित यो १४ औं संस्करण हो । प्रतियोगिता अबधिभर कुनै पनि बन्द हड्ताल लगायतका कार्यक्रम नगर्न आयोजकले आग्रह गरेको छ । मोवाईलको रिङ ब्यक टोनमा प्रतियोगिताको प्रबद्र्धनात्मक गित समेत राखिएको क्लबले जनाएको छ ।
कठिन परिस्थितिका बालकको सहयोगको लागि सहारा क्लबले एकेडेमी समेत सञ्चालन गरेको छ । प्रतियोगिताबाट बचत भएको रकम एकेडेमी सञ्चालनको लागि खर्च गरिने संस्थापक अध्यक्ष बसन्त थकालीले बताए ।

