
काठमाडौँ । आज (शुक्रबार) देखि संसदको वर्षे अधिवेशन अर्थात् बजेट अधिवेशन शुरु हुँदैछ । बैठक आज अपराह्न ४ बजेका लागि संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको बैठक संयुक्त रुपमा बस्नेछ ।
अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
बैठकमा कोरोना भाइरसको संक्रमण हुन नदिन सामाजिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइएको छ । यसका लागि बिहीबार नै सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो भने छुटेकाहरुको आज पनि स्वाब संकलन गरिने छ । सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउनेछन् ।
जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरु सबैलाई कोरोना संक्रमण भए नभएको यकिन गरेर मात्र संसद भवनमा प्रवेश दिइने व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ । पत्रकारलाई कलम र डायरी लैजानसमेत प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख गरिएको छ ।
