गोकुल बानीयाँ/ पोखरा, ६ पुस | पर्बतमा पुष ९ गतेदेखि कफी, लप्सी तथा सुन्तला महोत्सब हुने भएको छ । घरेलु तथा साना उद्योग महासंघ र जिल्ला बिकास समिति पर्बतको आयोजनामा हुने महोत्सब पुष १५ सम्म चल्ने आईतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
‘चौथो पर्वत लघु, घरेलु, कृषी , वनजन्य औद्योगिक प्रदर्शनी एबं कफी, लप्सी तथा सुन्तला महोत्सब ’ कुष्मा नगरपालिका– ९ मा एक साता सम्म चल्नेछ । स्थानिय कृषी उत्पादनको प्रबद्र्धनको लागि आयोजित महोत्सबमा दुई सय ५० उद्यमीका उत्पादन समेटिएको डेढ सय स्टल रहने मुल आयोजक समितिका संयोजक एबं घरेलु तथा साना उद्योग महासंघ पर्वतका अध्यक्ष शिव शर्मा पौडेलले जानकारी दिए ।
अनुमानित दुई लाख भन्दा बढी दर्शक भित्रने महोत्सबबाट एक करोड ५० लाख कारोबारको अपेक्षा राखिएको छ । महोत्सबमा कफी, लप्सी तथा सुन्तलाको साथै स्थानिय उत्पादनहरु अल्लोका कपडा, नेपाली कागज, हस्तकलाका सामान, जडिबुटी, माछा, दुधका परिकार पनि पाईने छ । साथै कफी, लप्सी, सुन्तला लगायत अन्य कृषीजन्य उत्पादनको प्रशोधन र परिकार बनाउने तालीम पनि महोत्सबको अबसरमा प्रदान गरिने आयोजकले जनाएको छ ।
उद्योग ब्यबशाय दर्ता, नविकरण, बजार प्रबद्र्धन सम्बन्धि परामर्श सेवा पनि महोत्सब स्थलबाट प्राप्त गर्न सकिने बताईएको छ । महोत्सब प्रबेशको लागि सर्बसाधारणलाई ४० र बिद्यार्थीको लागि ३० रुपैया शुल्क निर्धारण गरिएको र प्रत्येक प्रबेश टिकटमा उपहार स्वरुप लप्सी, सुन्तला लगायतका स्थानिय उत्पादन उपहार स्वरुप प्रदान गरिने पौडेलले बताए ।
स्थानिय लोकसास्कृतिक कार्यक्रम तथा कफी सास्कृतिक कार्यकम पनि महोत्सबको आकर्षणको रुपमा रहने छन् । भलिबल, छेलो हान्ने, लठ्ठा तान्ने लगायतका प्रतियोगितात्मक कार्यक्रमको साथमा पर्यटकिय स्थलहरुको फोटो प्रदर्शनीलाई पनि महोत्सबमा समेटिने भएको छ ।
घरेलु , साना उद्यमी तथा कृषकहरुका उत्पादन एकैथलोमा बिक्रिबितरण, प्रबद्र्धन गर्न महोत्सब फलदायी हुने बिश्वास गरिएको छ । उद्यमीहरु बिच एक आपसमा अनुभब साटासाट गर्ने स्थलको रुपमा समेत महोत्सब सफल हुने आयोजकको दाबि छ । साथै उत्पादित बस्तुको बजार पहिचानसंगै खरिदकर्ता र उद्यमी बिचको सम्बन्ध स्थापित गर्न र उद्यमशिलता बृद्धिको लागि महोत्सबले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।
पर्वतमा कफी उत्पादनको एकिन तथ्याङ्क नभएपनि बार्षिक अनुमानित २५ टन उत्पादन हुने र २० टन निर्यात हुने गरेको छ । त्यस्तै बार्षिक १५ सय मेट्रिकटन सुन्तला उत्पादन हुने पर्बतबाट ५ सय मेट्रिकटन निर्यात हुने अनुमान छ ।
५५ गाबिस रहेको पर्बतमा ४४ गाबिसमा कफी उत्पादन हुदै आएको छ भने १० गाबिसको झण्डै ५ सय हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुदै आएको छ । महोत्सब स्थलबाट झण्डै एक सय टन सुन्तला बिक्रि हुने जिल्ला बिकास समिति पर्वतका कार्यक्रम अधिकृत तुलसीराम पौडेलले जानकारी दिए । लप्सी उत्पादनको भने कुनै तथ्याङ्क नरहेको जिल्ला बिकास समिति पर्वतले जनाएको छ । स्थानिय उत्पादनको प्रबद्र्धनको लागि पर्वतमा प्रत्येक ३ बर्षमा महोत्सब हुदै आएको छ ।

