
कोरोना (कोभिड १९) भाइरसका कारण विश्व आक्रान्त छ । कोरोना कहरले विश्व समुदाय नै समस्यामा छन् । नेपालमै दुई महिना लकडाउन लम्बिसक्यो । हुने खानेहरुलाई त ज्यान तन्काउन मात्र समस्या होला, हुँदा खानेहरु ज्यान जोगाउनै मुस्किलको अवस्थामा पुगिसके ।
यो विश्वव्यापी महामारीबाट आर्थिक क्षेत्र तहसनहस छ । लकडाउनले कति घरजानबाट रोकिएका छन् । हप्तौ लगाएर कोहि पैदल नै हिँडेर घर पुगिरहेका छन् । यस्तै लकडाउनको समस्याबाट गुज्रिएको युवाको कथालाई सर्ट फिल्ममा समेटिएको छ । पोखराबाटै उत्कृष्ट भिडियो निर्देशन गर्दै आफूलाई अब्बल सावित गरिसकेका युवा सर्जक नेत्र गुरुङको निर्देशनमा घर नेपाली सर्ट फिल्म सार्वजनिक भएको छ । गुरुङले आफ्नै नयाँ युट्युब च्यानल नेत्र इन्टरटेनमेन्ट मार्फत घर सर्ट फिल्म सार्वजनिक गरेका छन् ।
लकडाउनको समयमा शहरको एक फ्ल्याटमा अड्किरहेका युवाको समग्र कथा समेटिएको घरमा रोहन नेपाली पात्र हुन् । लकडाउनमा युवा मन बेचैन छ । घर छाडेर शहर पस्नुको कारण, प्रेम र प्रेमिकाबाट पाएको धोका, बुबाआमाको सम्झना, घरको स्मरणले पश्चातापको भूमरीमा फसेका छन् । घरको सार यही हो ।
नेत्र आफ्नै सम्पादन र निर्देशन रहेको फिल्ममा रोहनसहित साधना शर्मा, पूर्ण जिसी, हिमा जिसी, भरत छन्त्याल, विजयराज अधिकारी, सुशन श्रेष्ठको अभिनय छ । रोहनले निकै मेहनत गरेको भिडियोमा देख्न सकिन्छ । कोरियोग्राफर उनी एक्टिङमा पनि उत्कृष्ट देखिएका छन् । सहायक निर्देशन भरत छन्त्यालको रहेको छ । फोटोग्राफी डिरेक्शन प्रकाश गुरुङ काश, ड्रोनतर्फ विकास ताम्राकार र मिलन थापा, कलरिष्ट किरणराज थापा, पब्लिसिटी डिजाइनर सविन गायक, प्रोडक्शन म्यानेजर विजयराज अधिकारी हुन् ।
मिडिया पार्टनरमा बिग एफएम १०१.२ मेगाहर्ज, पोखरा रहेको छ ।
