कास्कीमा क्रियाशिल विद्यार्थी संगठनको बैठक बस्दै
नवराज ढुङ्गाना
पोखरा, ८ पुस ।
सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । तर एक प्रतिशत मात्रै घटाईएकाले उपभोक्ता भने सन्तुष्ट छैनन् ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ लगातार घट्दै गएपनि नेपाल सरकारले भने अत्यन्तै थोरै मात्रै घटाएकाले आफुहरु मर्कामा परेको उनीहरुको गुनासो छ । गाडीभाडा समेत नाममात्रैको घटाईएकाले यसबाट कसैले पनि राहत अनुभव गर्न नसक्ने अनेरास्ववियू कास्कीका अध्यक्ष अर्जुन अधिकारीले बताएका छन् ।
“अन्तराष्ट्रिय बजारमा जसरी पेट्रोलियम पदार्थको भाउ घटेको छ, त्यही अनुसार नै सरकारले पनि भाउ घटाउनुपर्छ ।”
“अन्तराष्ट्रिय बजारमा जसरी पेट्रोलियम पदार्थको भाउ घटेको छ, त्यही अनुसार नै सरकारले पनि भाउ घटाउनुपर्छ ।” उनले भने– “तेलको भाउ पनि थोरै घटाउने अनि भाडा पनि नाममात्रैको घटाउँदा यसले कसैलाई पनि फाईदा पुग्ने देखिँदैन ।”
उनले यहि बिषयमा छलफल गर्न आज कास्कीमा क्रियाशिल विद्यार्थी संगठनबीच बैठक बस्ने तयारी भैरहेको समेत जानकारी दिएका छन् । आज साँझ बस्ने बैठकले केन्द्रीय समितिको कार्यक्रमलाई समर्थन गर्ने र भाडा घटाउन सरकारलाई थप दवाव दिने उनले बताए ।
पेट्रोलियम पदार्थको घटेको मूल्य अनुसार सरकारले सार्वजनिक यात्रुवाहक बसमा १ प्रतिशत र मालवाहक सवारीसाधनमा साढे २ प्रतिशत मात्रै भाडा घटाएको छ । मिटरजडित ट्याक्सीको भाडा भने घटाईएको छैन ।
विद्यार्थी संगठनहरुले थप भाडा घटाउन सरकारलाई हिजो २४ घण्टे अल्टिमेट समेत दिएका थिए ।
