
पोखरा । प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) गण्डकी प्रदेशले प्रदेश भित्रका विभिन्न क्षेत्रका ईन्जिनियर, विज्ञ एवं सरोकारवालासंग परामर्श गरि गण्डकी प्रदेशको आ. ब.०७७/७८ को नीति तथा कार्यक्रमको लागी सुझाव संकलन गरेर शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष पेश गरेको छ ।
कार्यक्रमका बीच नेपाल ईन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशका सभापति आ.ई. बाबुराम भण्डारीले ‘कोरोना महामारीले विश्व नै आक्रान्त रहेको बेला नेपालको अर्थतन्त्रलाई प्रभावकारी रुपमा अगाडी बढाउन र “सुखी नेपाली सम्बृद्व नेपाल“ निर्माणमा हाम्रो सानो सहयोग पुगोस् भन्ने हेतुले विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुसंग परामर्श गरि सुझाव संकलन गरेका हौ’ भन्नुभयो ।
ईन्जिनियरहरुले बुझाएको सुझावमा कृषि तथा सहकारी क्षेत्रमा गण्डकी प्रदेशलाई कसरि आत्म निर्भर बनाउने, स्वास्थ्य क्षेत्रमा दिर्घकालिन सुधार तथा व्यवस्थापन, पर्यटन क्षेत्रका पूर्वाधारहरुको दिगो विकास तथा वातावरण संरक्षण, शैक्षिक स्तर उन्नति तथा खेलकुद क्षेत्रको विकास, सडक, पुलपुलेसा, बिद्धुत, खानेपानी लगायत पूर्वाधार विकासका कार्यक्रमहरु, नविकरणनीय उर्जाका प्रविधिहरु तथा विधुतीकरण, Digitize प्रदेशको अवधारणा सहित सूचना र प्रविधि क्षेत्रको बृहत्तर विकास, समग्र इन्जिनियरिङ क्षेत्रको बृहत्तर विकास लगायतका कुराहरु समावेश छन् ।
कार्यक्रममा प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) केन्द्रीय कमिटी सदस्य ई. टेक बहादुर कटुवाल, नेपाल ईन्जिनियर्स एसोसिएशन गण्डकीका अध्यक्ष आ.ई बाबुराम भण्डारी, प्रदेश विकास समितिका सदस्य ई. बिष्णु बराल, मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार गोविन्द नेपाली लगायतको उपस्थिति रहेको थियो । इन्जिनियरहरुको सुझाव बुझ्दै मुख्यमन्त्री गुरुङले भने –‘गहिरो अध्ययन गरेर सकेको कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउँदछु, सुझावको लागि गण्डकीका इन्जिनियरहरुलाई हार्दिक धन्यवाद । भबिष्यमा ईन्जिनियरिङ जगतसँगै हातेमालो गरि प्रदेश सम्वृद्ध बनाउन लागि पर्नेछु ।’
कार्यक्रमको अध्यक्षता पिन गण्डकीका कार्यवाहक अध्यक्ष ई.महेन्द्र बहादुर गोदारले गरेका थिए भने सञ्चालन पिन गण्डकीका सचिव ई. सुरेश तिमिल्सिनाले गरेका थिए ।
