
काठमाडौँ । नेपालमा अहिलेसम्म करोना (कोभिड–१९) संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । यस्तै संक्रमित संख्या ६ सय ८२ पुगेको छ भने यीमध्ये ११२ जना संक्रमणमुक्त भएका छन्।
सोमबार थप एक जना कोरोना संक्रमण भएर मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार पुगेको मन्त्रालयले जनाएको छ। पछिल्लो पटक वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गर्दागर्दै मृत्यु भएका एक जनामा पनि कोरोना संक्रमण भएको पाइएपछि मृतकको संख्या चार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन् ।
७० वर्षीय उनको १० दिन पहिले नै मृत्यु भएको थियो। यसपछि अस्पतालले उनको शव परिवारलाई बुझाएर दाहसंस्कार पनि भइसकेको छ।
यस्तै सोमबार नै थप ७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या ६ सय ८२ पुगेको छ।
पछिल्लो पटक थपिने संक्रमितहरुमा अछामका १ जना, बर्दियाका ३ जना, पर्सा बारा का १ जना काठमाडौँ घर भइ कलैया बारामा रहेका १ जना रहेका छन् । यता वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएसँगै पछिल्लो पटक ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै पछिल्लो समय ७ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।
