
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोनालाई कारण देखाउँदै स्वदेशमा उत्पादित कृषि उपज नष्ट गर्न स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरू लागेको भन्दै दुःख व्यक्त गरेको छ । कृषि सामग्री, उत्पादनलाई कुनै खाले अवरोध नगर्ने मन्त्रालयले पटक पटक आग्रह गरे पनि अटेर गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले बताएका छन् ।
‘स्वदेशी कृषि उपज नष्ट गर्न लकडाउनको सुरुवातदेखि नै शृङ्खलाबद्ध हर्कत भएका छन्, यस्ता गतिविधि रोक्नका लागि हामीले पटक पटक भन्यौं, तर कसैले सुन्दैन,’ प्रवक्ता केसीले भनेका छन् ।
कृषि उपजमाथिको आक्रमण रोक्न जिल्ला प्रशासनलाई गृह मन्त्रालयबाट र स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयबाट लिखित पत्र पठाइएको मन्त्रालयले जनाएको छ । कृषकको गतिविधिलाई सहजीकरण गरिदिन कृषिमन्त्री घनश्याम भुसालले गृह र सामान्य प्रशासन मन्त्रीलाई पटक पटक आग्रह गरेको तर नतिजा नदेखिएको मन्त्रालयले जनाएको छ ।
सोमबार सचिव राजेन्द्र प्रसाद भारीले विज्ञप्ती नै प्रकाशित गरेका छन् । विज्ञप्तीमा भनिएको छ –अन्यत्र जिल्लामा उत्पादित वस्तुहरुको ढुवानी र विक्री वितरण गर्न नदिई जफत गरी नष्ट गरिएको भन्ने समाचारहरु प्रकाशन भएको सन्दर्भमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । यस्ता कार्यहरुले कृषकहरुको उपज खेर जाने मात्र नभई कृषकहरुको मनोबल खस्कने, उत्पादन घट्ने र पुनः आयात कै भर पर्नुपर्ने अवस्था सिर्जना गराउँदछ । तसर्थ यसता कार्यहरु कहिँकतैबाट हुन नदिन र कृषकका उत्पादनहरु सहज रुपमा ढुवानी र विक्री वितरण हुने व्यवस्था मिलाउनुहुन सम्बद्ध सबैलाई यस मन्त्रालय पुनः अनुरोध गर्दछ ।
कास्कीको पोखरा १५ र पोखरा ३३, र अर्घाखाँचीको सन्धिखर्कमा हरियो तरकारी नष्ट गरिएको समाचार र भिडियो भाइरल बनेको छ ।

सम्बन्धित समाचारः
स्वदेशी तरकारी खाल्डोमा, भारतीय तरकारी भान्सामा ! पोखरा १५ र ३३ मा तरकारी गाडियो
