
सर्लाही । सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा झडप भएको हो । त्यस क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा भारत सितामाडी पिप्रापर्सानीका २७ वर्षका विकेश कुमार रहेका छन् ।
घटनामा तीन जना सशस्त्र प्रहरी र भारतीय पक्षका दुई जना घाइते भएका छन् ।
भारतबाट सामान नेपाल ल्याउँदै गर्दा सर्लाहीको पर्सा गाउँपालिका नारायणपुर नाकामा सशस्त्र प्रहरीको हतियार खोस्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ ।
प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिएको जनाइएको छ ।
भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीबेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ । त्यसक्रममा १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।
