
पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीद्धारा आयोजित राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिताको सेमिफाइनलबाट उत्कृष्ट १० जना वक्ताहरु छनौट भएका छन् ।
गौरवशाली विगत चुनौतिपूर्ण वर्तमान गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुशासन, विद्यार्थीसँग शिक्षक संगठन भन्ने उद्घोषका साथ आयोजित वक्तृतामा देशभरका ९७ विद्यार्थीहरुमध्येबाट उत्कृष्ट १० विद्यार्थी छानिएका छन् ।
समृद्ध नेपाल सुखी नेपाली र नेपालको समृद्धिका लागि व्यवसायिक कृषि भन्ने शीर्षकमा वक्तृता प्रस्तुत विद्यार्थीहरु मध्ये अन्जु खड्का काठमाडौँ, अपेक्षा अधिकारी कास्की, विक्रम गिरी नवलपरासी, दीपशिखा भण्डारी बाँके, हरिकला अधिकारी बर्दिया, प्रशान चाम्लागाइँ इलाम, प्रश्ना सुवेदी बर्दिया, रोजिना खत्री कास्की, सदीक्षा ढकाल पाल्पा, सन्दिप थापा पाल्पा, छनौट भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री नरदेवी पुनले १० कक्षा पढेपछि हलो छोड्ने र १२ कक्षापछि थलो छोड्ने प्रवृतिको अन्त्य गर्नु पर्ने बताइन् । जबसम्म आफ्नो जन्मभूमिको माटो र यसको खुस्बुलाई स्नेहले महसुस गर्न सकिदैन तबसम्म समृद्ध नेपाल बनाउन नसकिने बताउँदै अबको पुस्ता वक्तृतामा बोलेजस्तै कृषिमा आउनुपर्नेमा जोड दिइन् । समृद्ध नेपालका लागि सबैभन्दा पहिले नेपाल कृषिमा आत्मनिर्भर हुनुपर्ने बताउँदै उनले गण्डकी प्रदेश सरकारले कृषि र स्वास्थ्यमा अधिकतम बजेट छुट्याइएको पनि जानकारी दिइन् । उनले भनिन् – ‘किसानमुखी कार्यक्रम ल्याएर निर्वाहमुखी कृषि प्रणालीको अन्त्य गर्दै कृषिमा व्यवसायीकरण गर्नुपर्छ अनि आयातलाई न्युनीकरण ।’ जबसम्म किसानलाई डोके व्यवसायबाट माथि उठाउन सकिन्न तबसम्म कृषिमा व्यवसायीकरण गर्न सकिदैन भन्दै कोरोनाले हामीलाई कृषिमा आत्मनिर्भर हुनुपर्ने कुरा सिकाएको बताए ।
कार्यक्रमको समीक्षा गर्दै प्रा.डा. डिलबहादुर क्षेत्रीले विद्यार्थीहरुको प्रस्तुतिले आफू निकै हर्षित भएको बताउँदै अबको युवाहरुले अन्य पेसालार्इु जस्तै कृषिलाई आफ्नो पेसाका रुपमा अपनाउनु पर्नेमा जोड दिइन् । नेपाल जुन दिन कृषिमा आत्मनिर्भर हुन्छ त्यही दिन बल्ल समृद्धताका ढोका खुल्ने बताउँदै सम्पूर्ण विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरिन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले फाइनल राउण्डको वक्तृता पोखराको रेडियो र फेसबुक पेजबाट लाइभ गरिने जनाउँदै अबको प्रतिस्पर्धा झन् कडा हुने हुँदा गहन तवरले तयारी गर्न फाइनलमा प्रवेश गरेका विद्यार्थीहरुलाई आग्रह गरे । उत्कृष्टबाट सर्वोत्कृष्ट छान्नुपर्ने हुनाले फाइनलमा प्रवेश गर्न नसकेका विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गर्दै फाइनलमा प्रवेश गरेका विद्यार्थीहरुलाई सफलताको शुभकामना दिए ।
असार ६ गते फाइनल राउण्डमा विभेदरहित समाज निर्माणमा विद्यार्थीको भूमिका शीर्षक रहेको निर्णायक संयोजक त्रिभुवन विश्वविद्यालयका प्रा.डा. यदुनन्दन उपाध्यायले बताए ।
प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. यदुनन्दन उपाध्याय, सह प्रा.डा. पुण्यप्रसाद शर्मा, पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत डोलराज अर्याल, नेपाली भाषा शिक्षक परिषद कास्कीका अध्यक्ष डिल्लीराम अर्याल र नेपाली भाषा शिक्षक परिषद कास्कीका कोषाध्यक्ष शिवहरि सुवेदी रहेको निर्णायक टिमले छनौट गरेको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, दोस्रोलाई, १५ हजार, तेस्रो हुनेलाई रु १० हजार, ७ जनालाई रु २ हजारका दरले सान्त्वना पुरस्कार र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक तीर्थराज ढकालले जानकारी दिए ।
कार्यक्रमको मिडिया पार्टनर रेडियो अन्नपूर्ण पोखरा, सहआयोजक तथा सोसल मिडिया पार्टनर कुल्याब्स् डट कम, अनलाइन पार्टनर परिचय नेटवर्क, सारङ्गी न्युज र विशेष सहयोगी पोखरा महानगरपालिका रहेको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सदस्य शारदा शर्मा र नेपाल राष्ट्रिय शिक्षक संगठन बाग्लुङका अध्यक्ष गोविन्द भण्डारीले शुभकामना मन्तव्य राखेका कार्यक्रमको सञ्चालन संयोजक द्धय तिर्थराज ढकाल र दामोदर तिमिल्सिनाले गरेका थिए ।
