जातिय राज्य बने मुलुक विभाजन उन्मुखः नेपाल

Share:

रञ्जन अधिकारी पोखरा, ११ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले जातिय राज्य बने मुलुक विभाजन उन्मुख बन्ने चेतावनी दिएका छन् । उनले ११५ भन्दा बढी जातजाति भएको मुलुकमा जातीयताका आधारमा राज्य विभाजन उपयुक्त नभएको स्पष्ट पारे ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ कास्कीले तमु, सोनाम तथा ग्याल्बो ल्होसार÷ल्होछार, माघी, माघे संक्रान्ति, तोरल्ला लगायतका नेपाली चाडपर्वको अवसरमा शुक्रबार पोखरामा आयोजना गरेको  शुभकामना आदानप्रदान कार्यक्रममा उनले हिमाल, पहाड र तराईमा बस्ने सबै जातजातिका समुदायलाई एकताबद्ध राख्न बहुपहिचानका आधारमा राज्य विभाजन गरिनुपर्नेमा जोड दिएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सबैले आफ्नो हठ त्यागेर सहमतिका लागि लचिलो बन्नुपर्ने सुझाव दिए । ‘आफूले जे भन्यो त्यही हुनुपर्ने जिद्दी नछाडेसम्म सहमति हुन सक्दैन’ – नेपालले भने – ‘हतारिएर मुलुकलाई अप्ठ््यारो पर्ने खालको कुनै निर्णय गर्न हुँदैन ।’

दैनिक शीर्ष तहमा बैठक तर निश्कर्ष विहीन भन्ने समाचार सुन्दा पढ्दा अब जनता वाक्क हुने थालेको उल्लेख गर्दै उनले अब दलहरु चुक्न नहुने बताए । ‘देश र जनतालाई छिटो संविधान चाहिएको छ, दोस्रो संविधानसभाले पनि संविधान दिन सकेन भने सबै दलका नेता जनताबाट तिरस्कृत हुनेछन् ।’ नेपालले भने ।

नेता नेपालले चार शीर्ष नेताको छलफलपछि बनेको  कार्यददले बढिमा दश दिनमा संविधानका विवादित अन्तर्वस्तुमा छिनोफानो गरेर सही निचोड दिने विश्वास समेत ददिलाएका थिए । महासंघ कास्कीका अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागीले ल्होसारका अवसरमा शुभकामना साटसाट गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: