आज कतारबाट २० जना नेपालीको शव ल्याइँदै

Share:

काठमाडौँ । कतारबाट आज (शुक्रबार) २० जना नेपालीको शव ल्याइँदैछ । कतार एअरवेजको चार्टर्ड जहाजमार्फत २० जना नेपालीको शव दिउँसो सवा १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने छ।

कोरोना सङ्क्रमणको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएको शव वैदेशिक रोजगार बोर्ड र कतारमा रहेको नेपाली दूतावासको समन्वयमा मृतकका सम्बन्धित रोजगारदाताले पठाइदिएका हुन् ।

वैदेशिक रोजगार बोर्डका अनुसार बर्दिया मोतिपुरका सिकराम थारु, सर्लार्हीको ईश्वरपुरका अरुनकुमार पजियार, सिरहाका कसिन्द्र यादव, महोत्तरीका शिवशंकर रावत, धनुषाका छुत्रवा मण्डर खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यामबहादुर थापा, सर्लाहीका कसिन्द्र यादव र मनोज पासवान र महोत्तरीका अनिल चौधरीको शव ल्याउन लागिएको हो ।

यस्तै कपिलबस्तुका मोहम्मद अलाम मुसलमान, भोजपुरका धर्मकुमार थापा, सिरहाका मुस्तक सैश र रुपेशकुमार मण्डल, लमजुङका कुम्बा तामाङ, मोरङ्का युवराज अधिकारी, बाँकेका भक्तबहादुर थापा मगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डल, उदयपुरका मिनबहादुर थापा, सुर्खेतका निरबहादुर कामी र भोजपुरका मंगलबहादुर तामाङको शव पनि ल्याईंदैछ ।

बोर्डका अनुसार कतार एयरलाइन्सबाट आउने शवमध्ये ७ वटा परिवारले काठमाडौँमा जिम्मा लिने र बाँकीलाई उनिहरुका घरमा निःशुल्क पु¥याइदिने छ ।

यस्तै आजै कुवेतबाट नेपाली लिएर आउने जजिरा एअरले पनि २ वटा शव ल्याउनेछ । नुवाकोटकी सोनी तामाङ र संखुुवासभाका मानबहादुर आलेको शव कुवेतबाट ल्याउने जनाइएको छ ।

यसैगरी यूएईबाट पनि सिन्धुपाल्चोकको पेम्बा नुर्बू शेर्पाको शव नेपाल एअरलाइन्समार्फत ल्याइँदैछ । त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि गएको नेपाल एअरलाइन्सको चार्टर्ड जहाजले एउटा शव पनि ल्याउन लागेको हो ।

आजै साउदीको दमामबाट आएको हिमालय एअरलाइन्सको चार्टर्ड जहाजले पनि एउटा शव ल्याएको छ ।

यसअघि कुवेतबाट ३, ओमानबाट १ र यूएईबाट १ जनाको शव ल्याइएको छ ।

बोर्डका अनुसार खाडीका ६ देश, मलेसिया, दक्षिण कोरिया र अन्य देशमा गएको शुक्रबारसम्ममा २७२ पुरुष र १४ जना महिला गरी २८६ जनाको ज्यान गएको छ र शव उतै रोकिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: