
रञ्जन अधिकारी, पोखरा १२ पुस। जीवनको लामो समय काम गरेर अनुभवी पूर्व कर्मचारीको सीप, ज्ञान र दक्षतालाई उपयोग गर्नुपर्नेमा जोड दिईएको छ । पूर्व कर्मचारीको हक अधिकारलाई नयाँ संविधानमै स्पष्ट गरी लेख्न समेत पूर्वकर्मचारीहरुले ध्यानाकर्षण गराए ।
पूर्व कर्मचारी सेवा परिषद् कास्कीको शनिबार पोखरामा सम्पन्न दशौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष भरतबहादुर थापाले राज्यको सेवामै आधा जीवन विताएका अनुभवी पूर्व कर्मचारीलाई राज्यले उचित सम्मान गर्नुपर्ने बताए । ‘सेवाबाट अनुभवी प्राप्त पाका भईसकेका पूर्व कर्मचारीको ज्ञान, सीपलाई समाजमा लगाउन सक्नुपर्छ’ – थापाले भने– ‘उपयोगका लागि राज्यले उचित वातावरणको सिर्जना गर्नुपर्छ ।’
नेपाल सरकारका पूर्व सचिव रहेका थापाले नयाँ संविधानमा पूर्व कर्मचारीलाई राज्यको दृष्टिकोण, हकहितका सवालमा स्पष्टका साथ लेखिनुपर्नेमा पनि जोड दिए । अध्यक्ष थापाले काम गरुन्जेल मात्रै होईन, सेवानिवृत्त भएपछि पनि पूर्व कर्मचारीले आफ्नो दायित्व भूल्न नहुने बताए ।
कार्यक्रममा केन्द्रिय महासचिव तारानाथ सुवेदीले पूर्व कर्मचारीको पहिचान के भन्नेबारेमा संविधानमै लिपिबद्ध गर्न आग्रह गर्दै क्षेत्रीय सञ्जालको रुपमा कास्की शाखाले काम गरिरहेकोमा धन्यवाद दिए ।
सह क्षेत्रीय प्रशासक दिवाकर बास्तोला, केन्द्रिय सदस्य कृष्णप्रसाद बराल, परिषद् पर्वतका अध्यक्ष देवीप्रसाद विलासी, परिषद् तनहूँका अध्यक्ष तारानाथ घिमिरे, प्रमुख सल्लाहकार कृष्णप्रसाद भण्डारी, सल्लाहकार एवं पूर्व न्यायाधीश करुणानिधि शर्मा, पूर्व अध्यक्ष एवं एशस्कर सदस्यहरुको तर्फबाट भीमलाल लामिछने, आजीवन सदस्यहरुको तर्फबाट ऋषिराम त्रिपाठी, पूर्व कर्मचारी बचत तथा ऋण सहकारीका अध्यक्ष देवीबहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
परिषद् कास्कीका अध्यक्ष पिताम्बर बरालको अध्यक्षतामा भएको साधारणसभाको बन्दसत्रले सचिव रामचन्द्र पौडेल र कोषाध्यक्ष दामोदर शर्मा रिमालले प्रस्तुत गरेको प्रतिवेदनलाई सुझाव सहित पारित गरेको थियो । सो अवसरमा परिषद् कास्कीका उपाध्यक्ष केशवप्रसाद ढकाललाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो भने आजीवन सदस्यहरुलाई आजीवन सदस्यताको प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
कार्यक्रममा नारायण बास्तोला र हेमराज पौडेलले कविता वाचन गरे भने मुक्ति पराजुलीले गीत तथा शान्ति शर्माले भजन प्रस्तुत गरेका थिए । परिषद् कास्कीका उपाध्यक्ष केशवप्रसाद ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र पौडेलले गरेका थिए ।

