राष्ट्रिय अनलाइन वक्तृत्वकलामा बर्दियाकी प्रश्ना प्रथम, पाल्पाका दृष्टिविहीन सन्दिप द्धितीय

Share:

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीद्धारा आयोजित मावि स्तरीय राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगितामा बगलामुखी राधाकृष्ण थारु मवि बर्दियाकी प्रश्ना सुवेदी प्रथम भएकी छन् ।

त्यस्तै दमकडा मावि तानसेन पाल्पाका दृष्टिविहीन सन्दिप थापा द्धितीय, अमरसिंह नमुना मावि पोखराकी अपेक्षा अधिकारी तृतीय भएकी छन् । उनीहरुले क्रमशः रु.२५ हजार , १५ हजार र १० हजारसहित प्रमाणपत्र पाएका छन् ।

वक्तृत्वकला प्रतियोगितामा देशभरबाट ९७ जना विद्यार्थीहरुबाट विभिन्न चरण हँुदै टप टेन फाइनलिस्टबाट उनीहरु पुरस्कृत भएका हुन् । विभेदरहीत समाज निर्माणमा विद्यार्थीको भूमिका भन्ने शीर्षकमा विद्यार्थीहरु अन्जु खड्का काठमाडौँ, अपेक्षा अधिकारी कास्की, विक्रम गिरी नवलपरासी, दीपशिखा भण्डारी बाँके, हरिकला अधिकारी बर्दिया, प्रशान चाम्लागाइँ इलाम, प्रश्ना सुवेदी बर्दिया, रोजिना खत्री कास्की, सदीक्षा ढकाल पाल्पा, सन्दिप थापा पाल्पाले वक्तृता प्रस्तुत गरेका हुन् । बाँकी ७ जनाले ,रु.२।२ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्माले लकडाउनको बेला कोहीकोहीले शिक्षकहरु सुतिरहेका छन् भनी मध्यरातमा बर्बराइरहेकाहरुका लागि यो कार्यक्रम गतिलो जवाफ भएको भन्दै कास्की संगठनबाट देशैभरका शिक्षकहरुले सिर्जनात्मकता हुन सिक्नु पर्ने बताएका छन् ।

कार्यक्रमका अध्यक्ष रोमहर्षण पौडेलले देशभरकाबाट सहभागी सबै विद्यार्थी हाम्रा लागि विजयी भएको बताउँदै प्रतियोगिता हारजितको संग्राम भएकाले यसलाई सामान्य ढङ्गबाट लिन आग्रह गरे । देशभरका १६ वटा एफ रेडियो, २ वटा टेलिभिजन र संगठनको फेसबुक पेज र युट्युवबाट प्रत्यक्ष प्रशारण भएको बताउँदै सबै पुरस्कृत विद्यार्थीलाई बधाइ दिए । संगठनले वक्तृत्वकला प्रतियोगिता भन्दा पहिले शिक्षकका लागि प्रविधिमैत्री तालिम सञ्चालन गरेको जानकारी दिए । यो कार्यक्रमले संगठनलाई अझ थप सिर्जनात्मक कार्य गर्न उत्साहित भएको बताउँदै फेरि छिट्टै विद्यार्थीसँग शिक्षक संगठन भाग २ आउने पनि जनाएका छन् ।

निर्णायकको तर्फबाट बोल्दै निर्णायक डोलराज अर्यालले दुध फाट्दा पनिर बनाउन नजान्नेलाई दुध फाट्नुको दुख लाग्ने बताउँदै प्रतिकूलतामा अनुकूलता खोज्दै संगठनले यो कार्य गरेको र आफूमा भएको प्रतिभा अनि मिहिनेतमा विश्वास गर्न विद्यार्थीलाई आग्रह गरे ।

त्यस्तै कसैको प्रस्तुतिकरण त कसैको विषयवस्तुगत गाम्भीर्यता अब्बल भएकाले निर्णय गर्न कठिन भएको बताउँदै वक्तृताको मूल्याङ्कन आधारमा रहेर निश्पक्ष निर्णय गरेको बताए ।

विभिन्न चरण गरी १४ दिनसम्म चलेको वक्तृत्वकला प्रतियोगिताका निर्णायक मण्डलमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. यदुनन्दन उपाध्याय, त्रिभुवन विश्वविद्यालयका सहप्रा.डा. पुण्यप्रसाद शर्मा र पृथ्वीनारायण क्याक्पसमा प्राध्यापनरत डोलराज अर्याल र नेपाली भाषा शिक्षक परिषद कास्कीका अध्यक्ष डिल्लीराम अर्याल रहेका थिए ।

प्रतियोगितामा विजयी भाइबहिनीलाई बधाई दिँदै पुरस्कारको राशी विद्यार्थीको बैङ्कको खातामा जम्मा गरिने र प्रमाणपत्र जिमेलद्धारा पठाइएको संगठन जिल्ला सचिव तथा कार्यक्रम संयोजक तीर्थराज ढकालले जानकारी दिए ।

कार्यक्रमको मिडिया पार्टनर रेडियो अन्नपूर्ण पोखरा, सहआयोजक तथा सोसल मिडिया पार्टनर कुल्याब्स् डट कम र विशेष सहयोगी पोखरा महानगरपालिका, अनलाइन पार्टनर परिचय नेटवर्क र सारङ्गी न्युज रहेको प्रविधि संयोजक दामोदर तिमिल्सिनाले बताए ।

सहभागीका तर्फवाट अनुभव सेयर गर्दै प्रथम स्थान प्राप्त गर्ने प्रश्ना सुवेदी, द्धितीय हुने सन्दिप थापा र तृतीय स्थान ल्याउने अपेक्षा अधिकारी र अभिवावकका तर्फकाट प्रश्नाका बुबा प्रभात सुवेदीले बोलेका थिए ।

कार्यक्रममा समीक्षकका रुपमा साहित्यकार बासुदेव अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगरका अध्यक्ष विष्णुहरि त्रिपाठी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, सचिवालय सदस्य कमला थापा, महासचिव हंश बहादुर शाही, राष्ट्रिय समितिका उपाध्यक्ष जंग बहादुर गर्वुजाले मन्तव्य, संगठन उपाध्यक्ष वसुन्धरा पौडेलले स्वागत मन्तव्य, संगठनका जिल्ला उपाध्यक्ष हर्ककहादुर लामिछानेले धन्यवाद ज्ञापन गरेका थिए र संगठन जिल्ला अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: