
नवलपरासी । नवलपरासी (पूर्व) मा टिप्पर धुने क्रममा करेन्ट लागेर २ जनाको ज्यान गएको छ । मंगलबार बिहान ९ः१५ बजे जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–३ खोरोण्डे खोलामा लु २ ख ४७४४ नम्बरको टिप्पर धुने क्रममा पछाडिको ढाला(बुम)उठाउदा माथि रहेको बिजुलीको तार छोएर ढालामा करेन्ट प्रवाह भएर ट्रकका चालक र सह–चालकको मृत्यु भएको हो ।
करेन्ट लागेर ट्रकका चालक स्याङजा सेखमका ३५ वर्षीय भरत थापा र सह–चालक नवलपरासी (पूर्व) विनयी त्रिवेणीका १७ वर्षीय आशिष बि.कको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा जानकारी दिएको छ ।
घटनामा सोही स्थानमा लु २ ख ४४४८ नम्बरको टिप्पर रोकेर नुहाउदै गरेका पोखरा महानगरपालिका–१७ छोरेपाटनका ४५ वर्षीय कृष्ण बहादुर पाण्डे पनि करेन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर मध्यम घाइते भएका पाण्डेको नवलपरासीस्थित मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको बताइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
