
पोखरा । पोखरामा मृत्यु भएका स्याङजाका कोरोना संक्रमित पुरुषको शव व्यवस्थापन गरिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमान्चल क्षेत्रीय अस्पताल) मा बुधवार राति मृत्यु भएका स्याङजा सिरुवारीका ५५ बर्षीय पुरुषको शव पोखरा ३२ मजुवामा बिहीबार दिउँसो व्यवस्थापन गरिएको हो । प्रशासनको सक्रियतामा नेपाल प्रहरी र नेपाली सेनाको डेडीकेटेड टोलीले मजुवा स्थित साततहरामा मृतकको शव व्यवस्थापन गरेको हो ।
शव व्यवस्थापनका क्रममा स्थानीयबाट अवरोध भएपछि केहि समय झडप समेत भएको थियो । स्थानीयहरुले उक्त स्थानमा शव गाड्न नदिनको लागि बाटोमा टायर बालेर अवरोध गरेका थिए । शव व्यवस्थापनका क्रममा भएको झडपमा प्रहरीले हवाई फायर समेत गरेको थियो ।
घटनामा ७ जना स्थानीय र प्रहरी तर्फ २ जना घाइते भएको कास्की प्रहरीले जनाएको छ । शव व्यवस्थापनको क्रममा अवरोध सिर्जना गर्न खोज्ने ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस अघि सोही अस्पतालमा मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिकाका ५८ वर्षीय पुरुषको गत जेठ २६ गते पोखरा –११ स्थित रिठ्ठाघाटमा शव व्यवस्थापन गरिएको थियो। रिठ्ठाघाटमा शव व्यवस्थापन गर्ने क्रममा समेत झडप भएको थियो ।
