
काठमाडौँ । देशभरका ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । आज खान छुटेकालाई भोलि खुवाइने छ । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ ।
कोरोना भाइरसको महामारीका कारण गत वैशाख ६ र ७ गते तय गरिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम गत चैत २१ गते स्थगित गरिएको थियो। मन्त्रालयले सो कार्यक्रम पुनः सञ्चालन गरेको हो। ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ।
सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न ०५३ सालबाट भिटामिट ’ए’ खुवाउँदै आइरहेको छ।
यस्तै १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ। बालभिटा ०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो। ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।
