कुमुदिनी होम्सद्वारा कालिका माविलाई डेस्क र बेन्च सहयोग

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ११ स्थित काँहुडाडामा रहेको कालिका मा.वि.लाई पोखराको कुमुदिनी होम्स माध्यमिक विद्यालयको तर्फबाट डेस्क र बेन्च सहयोग गरिएको छ । २० सेट डेस्क र बेन्च सोमबार हस्तान्तरण गरिएको कुमुदिनीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

कालिका मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार केसीलाई कुमुदिनीका अध्यक्ष पालिखेले डेस्क र बेन्च हस्तान्तरण गरेका हुन् । निजी विद्यालयले सामुदायिक विद्यालयलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको पालिखेले बताए । ‘कालिका माविको प्रगति तथा सफलतामा हामी साथ दिन तयार छौं,’ उनले भने ।

पोखरा महानगरपालिका वडा नम्बर १९ पुरञ्चौरस्थित लपसिटाकुरामा रहेको हिमालयन आधारभूत विद्यालय र माछापुच्छ«े गाउँपालिका खादरजुँग गाउँस्थित बाराही आधारभूति विद्यालयलाई पनि कुमुदिनी होम्सबाट डेस्क र बेन्च छिट्टै सहयोग गर्ने तयारी भइरहेको पालिखेले जानकारी दिए ।

यस्तै कुमुदिनी होम्स मा.वि.ले हिजो (आइतबार) बाट अनलाइन परीक्षा सञ्चालन गरेको छ । विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको २ महिना पछि नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीको लागि अनलाइन परीक्षा सञ्चालन गरेको हो ।

कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि कुमुदिनीमा अनलाइन कक्षा सञ्चालन गरेको थियो । कास्की जिल्लामा नै पहिलो पटक अनलाइन परीक्षा सञ्चालन गरिएको पालिखेले बताए ।

विद्यालयले शुरु गरेको अनलाइन कक्षा निकै प्रभावकारी भएको र अहिले परीक्षा लिन पनि सफल भएको उनले बताए । परीक्षाबाट विद्यार्थीहरुले नयाँ प्रविधिको अनुभव गर्न पाएको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
Share: