सन् २०१४ मा कुन-कुन कलाकारले गरे विवाह

Share:

सन् २०१४ बिदा हुन लागेको छ। यो वर्ष धेरै सेलिब्रेटीका लागि विशेष बन्यो। हलिउड र बलिउडदेखि नेपाली चलचित्र उद्योगका कलाकारले समेत यो वर्ष लगनगाँठो कसे।

कसैले सुटुक्क त कसैले तामझामसहित विवाह गरे पनि सञ्चारमाध्यम र प्रशंसकका लागि भने सेलीब्रेटी विवाह चर्चाको विषय बने। प्रस्तुत छ, केही स्वदेशी तथा विदेशी सेलिब्रेटीको विवाह प्रसंग :

ब्राड पिट तथा एन्जेलिना जोली

एक दशकदेखि सम्बन्धमा रहेका तथा ब्राड तथा एन्जेलिना अर्थात् ब्रान्जेलिनाको रूपमा प्रख्यात थिए। उनीहरूको जोडी यसै वर्ष विवाहबन्धनमा बाँधियो। यो जोडीको विवाह संसारभरि नै कौतुहलका साथ हेरिएको थियो।

उनीहरूको केही नजिकको साथी तथा परिवारका साथमा उनीहरूका ६ जना छोराछोरीको उपस्थिति रहेको थियो। उनीहरूका जुम्ल्याहा बच्चाले उनीहरूको औंठी साटासाट गरिदिएका थिए।

marriage_year_final_681671166
 
जर्ज क्लोनी र अमल अलामुद्दिन

नायक जर्ज क्लोनीले उनको मानवअधिकारकर्मी वकिल गर्लफ्रेन्ड आलमलाई यसै वर्ष आफ्नो बनाए। उनीहरूको विवाह यसै वर्ष परिवार तथा साथीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

किम कर्दसियन र कान्ये वेस्ट

चर्चित टेलिभिजन स्टार किम कर्दसियनले अमेरिकन र्‍यापर कान्ये वेस्टसँग विवाह गरिन्।  किमको यो तेस्रो विवाह थियो। किमको पहिला नै एउटी छोरी जन्मिसकेकी छिन् भने फेरि अर्को बच्चाको आशामा छन्।

रानी मुखर्जी र आदित्य चोपडा

बलिउडकी सफल अभिनेत्री रानी मुखर्जीको लामो प्रेमको मिलन यसै वर्षमा भयो।  लामो अफेयरपछि उनले निर्माता निर्देशक आदित्य चोपडासँग विवाहबन्धनमा बाँधिइन्। विवाहित पुरुषको साथमा प्रेमप्रसंग सार्वजनिक भएपछि रानी चर्चामा आएकी थिइन्।

दिया मिर्जा र साहिल सांगा

बलिउडकी अभिनेत्री दिया मिर्जाले पनि लामो समयदेखि सम्बन्धमा रहेको प्रेमीसँग यसै वर्ष विवाह गरेकी छिन्। उनको प्रेमी साहिल सांगा चलचित्र निर्देशक हुन्।
 
अर्पिता खान र आयुश शर्मा

सलमान खानकी बहिनी अर्पिता खान र आयुश शर्माको विवाहको प्रसंगले पनि सञ्चारमाध्यममा ठूलो स्थान पायो।  हैदराबादमा भएको उनीहरूको विवाह समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत बोलाइएको थियो। उनी विदेश भ्रमणमा रहेकोले उपस्थित हुन नसके पनि बलिउडका चर्चित हस्ती सहभागी भएर विवाहलाई आकर्षक बनाएका थिए।

राजेश हमाल र मधु भट्टराई

अभिनेता राजेश हमालले आफ्नी प्रेमिका मधु भट्टराईलाई यसै वर्ष बेहुलीको रूपमा भित्र्याए। ५० नाघेका चर्चित अभिनेता राजेशको विवाहले धेरैको चासो, जिज्ञाशा र गसिपको अन्त्य गरिदियो।  नौ वर्षदेखि प्रेममा रहेका राजेशले विवाहको केही दिनअघि मात्र सञ्चारकर्मीमाझ प्रेमिका सार्वजनिक गरेका थिए।

श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का

नेपाली रजतपटमा अर्को चर्चित विवाह थियो अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काको। लामो समयदेखि प्रेमप्रसंगमा रहेका यी कलाकार पर्दाभित्र र पर्दा बाहिर पनि राम्रो जोडीका रूपमा चिनिएका थिए।  विवाहपछि हनिमुन मनाउन भारत गएको समयमा श्रीकृष्ण बिरामी भएर नयाँदिल्लीको सर गंगाराम अस्पतालमा भर्ना भएका थिए। विवाहको एक महिना नबित्दै साउन २५ गते श्रीकृष्णको निधन भयो।

अनुप बराल र दिया मास्के

रंगकर्मी, चलचित्र निर्देशक तथा अभिनेता अनुप बराल र कलाकार दिया मास्केको विवाह पनि यसै वर्ष भयो। सात वर्षदेखि नजिक रहेका अनुप र दिया लिभ इन् रिलेसनमा थिए।

आर्यन सिग्देल र सपना भण्डारी

नेपाली चलचित्र क्षेत्रका चक्लेटी अभिनेता आर्यन सिग्देलको विवाह पनि यसै वर्ष भयो।  उनले प्रेमिका सपना भण्डारीलाई बेहुलीको रूपमा वैशाखको पहिलो साता भित्र्याए। सामाजिक सञ्जालमार्फत भेट भएका उनीहरू केही वर्षदेखि नजिक थिए।

मिथिला शर्मा र र मोतीलाल बोहोरा

अभिनेत्री मिथिला शर्मा र पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोराबीचको विवाह पनि चर्चाको शिखरमा रह्यो।  ५० वर्षभन्दा बढी उमेरकी अविवाहित अभिनेत्री मिथिला शर्मा र ७५ को हाराहारीमा रहेका बोहोराले कोर्ट म्यारिज र टिकाटालो पछि घरजम गरेका थिए। बोहोराको पहिलो पत्नीको निधन भइसकेको थियो।

नीतु घले/Annapurna Post

कमेन्ट गर्नुहोस्
Share: