गण्डकीमा बाढी पहिरोः १३ को मृत्यु, ४१ बेपत्ता

Share:

पोखरा । अविरल वर्षासँगै आएको पहिरोले गण्डकी प्रदेशमा १३ जनाको मृत्यु भएको छ । ४१ जना अझै बेपत्ता छन् ।

शुक्रबार बाढीपहिरोमा परेर गण्डकीको कास्की, म्याग्दी, लमजुङ र तनहुँ जिल्ला प्रभावित भएका छन् । तनहुँमा मानवीय क्षति भने भएको छैन ।

कास्कीमा ठूलो जनधनको क्षति भएको छ । पोखरा महानगरपालिकामा मात्रै ७ जनाको मृत्यु भएको छ । पोखरा महानगरको वडा नम्बर १८ सराङकोटमा पाँचजना, वडा नम्बर– २५ हेम्जामा एकजना र वडा नम्बर– २६ पैतेडाँडामा एकजनाको मृत्यु भएको हो ।

पोखरा–१८, सराङ्कोटको गोठादीका टंकबहादुर थापा र पोखरा–२६ का दुर्गाबहादुर सुनारको घर पहिरोमा परेर बगाउँदा ८ जनाको मृत्यु भएको छ । घाइतेको संख्या ११ छ ।

 ५० वर्षीय थापासहित उनकी श्रीमती ४५ वर्षीया सोममाया थापा, दुई नाति (वर्ष ६ को सुवान थापा, तनहूँ दमौली घर भएका वर्ष ८ को शीतल श्रेष्ठ) र छिमेकी ११ वर्षीया इशिका थापाको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । पोखरा–२५, हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनकी आमा हिमकला अधिकारीको मृत्यु भएको छ ।

म्याग्दीमा ३ जनाको मृत्यु

म्याग्दीमा बाढी र पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । म्यादीको धौलागिरि गाउँपालिका–७, ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको छ । ३१ जना अझै बेपत्ता छन् ।

रघुगंगा गाउँपालिका–६ मा गोठ जान हिँडेका ३४ वर्षका ललितमान छन्त्याल लापुखोला तर्ने क्रममा चिप्लिएर बेपत्ता भएका थिए । उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

धौलागिरि गाउँपालिका–६ मराङमा २१, मालिका गाउँपालिका–७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ९ जना बेपत्ता छन् । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

यस्तै रघुगंगा गाउँपालिकामा रघुगंगा खोलाले पुल बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लासम्मको यातायात सम्पर्क बन्द भएको छ ।

बेनी नगरपालिकाको म्याग्दी खोला र रघुगंगा खोलाका कारण जोखिममा रहेका २८ घरलाई सुरक्षित स्थानमा सार्न लागिएको छ । त्यहाँका ११० जनालाई उद्धार गरी गलेश्वरको धर्मशाला र आमा समूहमा राख्ने प्रबन्ध मिलाइएको जनाइएको छ ।

लमजुङमा पनि ३ जनाको मत्यु

लमजुङमा पनि पहिरोमा परी ३ जनाको मृत्यु भएको छ । बेंसीशहर नगरपालिका–७, सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । अन्य चार जना सामान्य घाइते भएका छन् ।

विहीबार राति करिब ११ बजे ढुंगासहित खसेको पहिरोमा घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोमा पुरिएको अवस्थामा उनीहरुलाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले सकुशल छन् ।

विहीबारकै रात लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ का तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा तुलबहादुरकी बुहारी र एक जना बच्चा घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: