विश्वमा एकै दिन थपिए साढे २ लाख कोरोना संक्रमित

Share:

काठमाडौँ । विश्वमा एकै दिन साढे २ लाख कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। विश्व स्वास्थ्य संगठनले शनिबार विश्वमा २ लाख ५९ हजार ८ सय ४८ नयाँ संक्रमित थपिएको जनाएको हो ।

विश्वमा कोरोना संक्रमणको महामारी सुरु भएयता एकै दिन धेरै संक्रमित थपिने रेकर्ड शनिबार बनेको हो। यसअघि शुक्रबार २ लाख ३७ हजार ७ सय ४३ संक्रमित थपिएर रेकर्ड बनेको थियो।

यस्तै शनिबार थप ७ हजार ३ सय ६० जनाको मृत्यु भएको छ। एकैदिन भएको मानवीय हताहतीको यो संख्या पनि गत महिना (मे) पछि सबैभन्दा धेरै हो।

यससँगै विश्वभर संक्रमित संख्या एक करोड ४२ लाख नाघेको छ भने मृतक संख्या ६ लाख नाघेको छ । विश्वमा हालसम्म ७९लाख ८३ हजार बढी संक्रमित उपचार पछि निको भएका छन्।

पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३६ लाख ९८ हजार २ सय ९ पुगेको छ भने १ लाख ३९ हजार ९ सय ६० संक्रमितको मृत्यु भएको छ ।

यस्तै ब्राजिलमा २० लाख ७४ हजार ८ सय ६० संक्रमित छन् भने त्यहाँ ७८ हजार ७ सय ७२ संक्रमितको मृत्यु भएको छ ।

यता भारतमा संक्रमित संख्या १० लाख ३८ हजार ७ सय १६ पुगेको छ भने २६ हजार २ सय ७३ संक्रमितको मृत्यु भइसकेको छ । रुसमा संक्रमित संख्या ७ लाख ६४ हजार २ सय १५ पुगेको छ भने १२ हजार २ सय २८ संक्रमितको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: