नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, ५८ जना डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै सप्तरीका ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सर्लाहीका २५ जना, कैलालीका २४ जना, बर्दिया र नवलपरासीका १०/१० जना, पर्साका ७ जना, कास्की, लम्जुङ र म्याग्दीका ६/६ जना तथा बाँके र दाङका ५/५ जनामा पनि संक्रमण देखिएको छ ।

त्यस्तै ललितपुर, रौतहट, स्याङ्जा, रुपन्देही र डडेलधुराका २/२ जना तथा सुनसरी, सिराहा, बारा, काठमाडौँ, मोरङ, मकावनपुर, बाग्लुङ, पर्वत, प्युठान र सल्यानका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ६५८ जना पुगेको छ।

विगत २४ घण्टायता ३ हजार ७ सय ४१ जनाको पिसिआर परीक्षण भएको छ। हाल आइसोलेसनमा २२ हजार ६ सय ६२ जना छन् ।

हालसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

थप ५८ जना संक्रमणमुक्त

विगत २४ घण्टायता थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा हालसम्म ११ हजार ६ सय ९५ उपचारपछि निको भएका छन्।

नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलव २४ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ८ जिल्लामा हाल कोरोना संक्रमित छैनन् । भोजपुर पाँचथर धनकुटा रसुवा, मनाङ, मुस्ताङ हुम्ला र जुम्लामा हाल संक्रमित छैनन् ।

कमेन्ट गर्नुहोस्
Share: