छिमेकी जिल्लामा पनि यातायात चलाउन पाइने, बिहीबारदेखि सबै सार्वजनिक सवारी चल्ने

Share:

काठमाडौँ । अब नजिकका जिल्लामा पनि यातायात चलाउन पाउने भएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

तर विद्यालय र सिनेमा हल संचालनमा भने रोकावट कायमै रहेको जनाइएको छ ।

यस्तै बैठकले भदौ १ बाट हवाई सेवा संचालन गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेबाट आन्तरिक र भदौ १ बाट बाह्य उडान सेवा सुरु गर्ने प्रस्ताव गरेको थियो। मन्त्रिपरिषद्ले सो प्रस्ताव संशोधन गर्दै भदौ १ बाट दुवै सेवा संचालन गर्ने निर्णय गरेको हो ।

बिहीबारदेखि सबै सार्वजनिक सवारी चल्ने

आगामी बिहीबारबाट सार्वजनिक सवारी सञ्चालनमा आउने भएको छ । यातायात व्यवस्था विभागसँग सोमबार भएको छलफलपछि व्यवसायी गाडी चलाउन तयार भएका हुन् ।

छलफलमा चालक एवं सहचालकको कोरोना बिमाको प्रिमियम सरकार र यातायात व्यवसायीले आधाआधा तिर्न पहल गर्ने सहमति भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड सम्बन्धित व्यवसायीले आफैं व्यवस्था गर्ने भनिएको छ । गाडीमा सेनिटाइजरको व्यवस्था व्यवसायी आफैंले गर्नुपर्नेछ । साथै कोरोनाका कारण यातायात श्रमिकको मृत्यु भए आश्रित परिवारलाई क्षतिपूर्तिका लागि सरकारका तर्फबाट कोष स्थापना गर्न विभागले सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ । यातायात श्रमिकका लागि आवश्यक स्वास्थ्य सामग्री मास्क, सेनिटाइजर, पन्जा र पीपीई सम्बन्धित व्यवसायीले उपलब्ध गराउनुपर्नेछ ।

यता यातायात व्यवसायी राष्ट्रिय महासंघले भने मंगलबार यातायात व्यवसायीबीच छलफल गरेर मात्र सवारी सञ्चालनबारे निर्णय गरिने जनाएको छ । महासंघ र तीनवटा मजदुर ट्रेड युनियनसहित बनेको कार्यदलको बैठक बसेर गाडी चलाउने मिति तोकिने जनाइएको छ ।

गत चैत ११ देखि बन्द रहेका सार्वजनिक सवारी सरकारले गत असार २६ बाट जिल्लाभित्र सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: