
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज केहीबेर बसेर स्थगित गरिएको छ । देश बाढी पहिरोको चपेटमा रहेको भन्दै मंगलबारको बैठक पनि एकैछिन बसेर साउन १३ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गरेको छ ।
बाढी, पहिरो तथा डुवानका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बैठकले उद्धार, राहत र पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।
अर्काे बैठक साउन १३ गते बिहान ११ बजे बस्ने जनाइएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । स्थायी कमिटी बैठक अघि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।
