बाह्य शक्तिको आडमा धर्म निरपेक्षता घोषणा गर्नु दुखद्ः थापा

Share:

रञ्जन अधिकारी पोखरा, १७ पुस / नेपालका ठूला भनिएका नेताहरुले बाह्य शक्तिको आडमा मुलुकलाई धर्म निरपेक्षता घोषणा गरिनु समस्त नेपालीजनका लागि अत्यन्त दुःखदपूर्ण रहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । उनले अब नेताहरु विदेशीको दबाबमा पर्न नहुने भन्दै दोस्रो संविधानसभाबाट लेखिने नयाँ संविधानमा यसअघिको भूल सुधार गर्नुपर्नेमा जोड दिए ।

राप्रपा नेपाल केन्द्रीय समितिद्वारा आयोजित मेची–महाकाली पशुपतिनाथ धार्मिक रथयात्रा बुधबार अपरान्ह पोखरामा आइपुगेपछि अमरसिंहचोक सडकमै आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले नेपाललाई हिन्दु राष्ट्रका रुपमा स्थापना नगरेसम्म आवाज निरन्तर उठाईरहने बताए । ‘यहाँका सबैं हिन्दू धर्म अङ्गीकार गर्ने आम जनताको साथ छ’ – थापाले भने– ‘यदि बहुसंख्यक नेपालीको मागलाई विदेशीको ईशारामा अवमूल्यन गरिन्छ भने यसको परिणाम राम्रो हुनेछैन ।’

थापाले मुलुकको धर्म, संस्कृति र धार्मिक सहिष्णुताको संवद्र्धन गर्न तथा हिन्दूत्वको पहिचानलाई नयाँ बन्ने संविधानमा समावेश गरिनुपर्ने माग गरे । उनले प्रमुख दलहरुले सत्ताको भागबन्डालाई भन्दा राष्ट्रको सार्वभौम र आमजनतालाई केन्द्रबिन्दु बनाएर आगामी माघ ८ गते नयाँ संविधान घोषणा गर्नेतर्फ निःस्वार्थ भई अग्रसर हुनुपर्ने पनि बताए । पुस ९ गते झापाको काकडभिट्टाबाट सुरु भएको रथयात्रा आठौं दिन स्याङ्जा हुँदै पोखरा आईपुगेको हो । बुधबार नै यात्रा तनहुँको दमौली हुँदै धादिङको गजुरीसम्म पुग्ने थापाले जानकारी दिए ।

कार्यक्रमपछि पार्टी केन्द्रिय प्रशिक्षण विभागका प्रशिक्षक वरुणविक्रम राणाले सनातन धर्मको ईतिहास सबै धर्मभन्दा बलियो रहेको जनाउँदै यस्तो महत्वपूर्ण धर्म अङ्गिकार गर्न मौका पाएको नेपाल विदेशी दबाबमा यो अवस्थामा आएको बताए । ‘कुनै पनि राष्ट्र धर्म निरपेक्ष हुनै सक्दैन । १९४ मुलुक मध्ये क्रिश्चियन धर्म ७४ देशमा छ, ईस्लाम धर्म मान्ने ५१ देश छन्’ – उनले भने– ‘सबै धर्मभन्दा माथिको हिन्दु धर्म रहेको एउटा देश नेपाल, त्यो पनि नेताहरुकै कारण हटाईयो, अनि कसरी नेपाली जनताले स्विकार्छन् ?’

राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनको संयोजनमा रथयात्राको टोलीलाई पोखराको छोरेपाटनमा स्वागत गरी पृथ्वीचोकबाट बाजा गाजा सहित कलश जुलसले साथ दिएका थिए । पोखरामा सर्वसाधारणले भव्य स्वागत गरेका थिए । राप्रपा नेपालले राष्ट्रको साझा पहिचान पूर्ण धार्मिक स्वतन्त्रता हिन्दुत्व राष्ट्रमा घोषणा हुनुपर्ने माग जोडदार रुपमा उठाउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: