
काठमाडौँ । नेपालमा थप एक सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा एक सय जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो पटक सबैभन्दा धेरै सप्तरीमा १८ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै दैलेखका १६ जना, लम्जुङ र डोटीका ७/७ जना, पर्सा र कालिकोटका ६/६ जना, धनुषाका ५ जना, सुनसरीका ४ जना, मोरङ, ताप्लेजुङ, बारा, काठमाडौँ, सर्लाही, स्याङ्जा, बाग्लुङ र बाँकेका ३/३ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै बर्दिया र सल्यानका २/२ जना तथा झापा, चितवन र बझाङका एक/एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
योसहित नेपालमा संक्रमितको संख्या १८ हजार ९४ जना पुगेको छ।
थप २०७ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा हालसम्म १२ हजार ६८४ उपचारपछि निको भएका छन्। विगत २४ घण्टायता ३ हजार ७७९ जनाको पिसिआर परीक्षण भएको छ।
