
पोखरा । कास्की जिल्ला स्तरीय जिल्ला ट्राफिक प्रहरी कार्यालयको नवर्निमाणाधिन भवनको अवलोकन गरिएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमान, गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालले संयुक्त रुपमा अवलोकन गरेका हुन् ।
पोखराको पृथ्वीचोकमा निर्माण गर्न लागिएको भवन अहिले अन्तिम चरणमा पुगेको छ । दुई करोड लागतमा निर्माण सम्पन्न हुन लागेको भवन निर्माणका लागि नागरिक स्तरबाट थालनी गरिएको हो । तत्कालिन नगरविकास समितिद्वारा जग्गा उपलब्ध भएपछि समाजसेवी तथा व्यवसायी दिलिप श्रेष्ठको नेतृत्वमा निर्माण समिती बनाएर काम सुरु गरिएको थियो । अहिले ट्राफिक प्रहरी कार्यालय बसेको भवन जिर्ण बन्दै गएको छ भने आवासको लागि पनि समस्या भएको छ ।
प्रहरीहरु पानि चुहिने भवनमा बसिरहेको अवस्थामा सुबिधासम्पन्न भवन निर्माण गर्ने प्रयत्न रहेको निर्माण समितिका संयोजक दिलिप श्रेष्ठले जानकारी दिए । भवन निर्माणका लागि पोखरा महानगरपालिका लगायत विभिन्न व्यक्तिहरुले सहयोग गरेको निर्माण समितिका सल्लाहकार शिब बस्ताकोटीले सो अबसरमा जानकारी दिए । निर्माण सम्पन्न हुन अझै केही रकम अभाव भएको र यसका लागि सहयोगको अपेक्षा रहेको सदस्य सचिव शिब थापाले जानकारी दिए ।
भवन निर्माणस्थलको अवलोकन पछि आन्तरीक मामिला तथा कानुनमन्त्री हरी बहादुर चुमानले प्रदेशले सकेसम्मको आर्थिक सहयोग गर्ने बताए । प्रदेश सरकार बनेपछि यस्ता कार्यहरुमा केही हदसम्म भएपनि सहयोग गर्ने काममा थप सहजता आएकोले भवन सम्पन्न गर्नका लागि आवश्यक स्रोतको खोजि गर्ने प्रतिबद्धता व्यक्त गरे । आवश्यक पुर्वाधार बिना काममा पनि मनोबल नआउने भएकाले भवन निर्माणमा खट्ने र सहयोग गर्ने प्रति उनले धन्यवाद दिए । प्रदेश प्रहरी प्रमुख डि.आइ.जि. घनश्याम अर्यालले प्रहरीको मनोबल उच्च राख्ने र आवश्यक पुर्वाधार निर्माण गर्ने कुरामा आफु सधैं सकारात्मक भएको र सोही अनुसार पहल जारी राख्ने बताए ।
