
काठमाडौँ । सोमबार (भोलि) बाट फेरि मनसुन सक्रिय हुने भएको छ । सोमबारदेखि देशभर मध्यमदेखी भारी वर्षा हुने र बिहीबारसम्मै सो क्रम जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने र अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झरी सुरु हुने जनाइएको छ ।
देशभरका नदीमा पानीको बहाव बढ्ने, पहिरो तथा बाढीको जोखिम हुने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
आज (आइतबार) भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । आज दिउँसो ठूलो पानी वा लगातार वर्षाको सम्भावना कतै पनि नभएको बताइएको छ।
राति प्रदेश १ र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
