
पोखरा १८ पुस । बिहिवारदेखि मौषममा आएको बदलीसंगै पोखरामा चिसो बढेको छ । पोखरा र आसपासको क्षेत्रमा बाक्लो हुस्सु लाग्नुको साथै सिमसिम पानी परिरहेको छ । जल तथा मौषम बिभागका अनुसार बितेको २४ घण्टामा पोखरामा १५ मिलिमिटर बर्षा भएको छ । आज बिहान पौने ९ बजेको मापन अनुसार पोखराको अधिकतम तापक्रम १७.६ र न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ ।

बर्षा र चिसोका कारण बजारमा मानिसहरुको चहलपहल समेत घटेको छ । हुस्सुको कारण पोखरा बिमानस्थल ठप्प छ । शुक्रवार बिहानको पोखरा काठमाण्डौ पोखरा उडान खराब मौषमको कारण रद्द भएको नागरिक उड्ययन कार्यालय पोखराले जनाएको छ । बुद्ध एयरका पोखरा स्टेशन म्यानेजर गौतम बरालका अनुसार बिहान देखि कुनैपनि उडान हुन सकेको छैन ।
आकाश खुल्न नसक्दा पोखरा साईड सिनमा प्रयोग हुने अल्ट्रालाईट र प्याराग्लाईडिङ उडान पनि ठप्प छ । पोखरा अल्ट्रालाईटका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले खराब मौषमको कारण दृष्याबलोकनमा प्रयोग हुने कुनैपनि उडान हुन सकेको छैन । मौषम पूर्बानुमान महाशाखाका अनुसार यो क्रम शनिवार पनि जारी रहनेछ ।

