नेपालमा कोरोनाका कारण थप ४ जनाको मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण थप ४ जनाको मृत्यु भएको छ । यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

ती मध्य दुई जनामा मृत्युपछि कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो भने कोरोना पुष्टि भएका दुई जनाकोे उपचारको क्रममा मृत्यु भएको हो ।

ललितपुरस्थित पाटन अस्पतालको आईसीयूमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । ललितपुर थसिखेलका बासिन्दा उनको शुक्रबार बिहान ९ः१५ बजे मृत्यु भएको हो ।

स्टार अस्पतालमा उपचारका क्रममा कोरोना पोजिटिभ देखिएपछि उनलाई साउन ६ गते पाटन अस्पतालमा भर्ना गरिएको थियो। उनलाई निमोनिया भएको बताइएको छ ।

यस्तै वीरगञ्ज नारायणी अस्थायी कोरोना अस्पतालको आइसीयूमा उपचाररत ५६ वर्षका पुरुषको पनि मृत्यु भएकोे छ ।

उनी जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत हुन्। वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति मृत्यु भएको हो ।
मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

बिहीबार दिउँसोदेखि उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको र अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा राति ११ बजे मृत्यु भएको जनाइएको छ ।

यसैगरी गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएका वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय पुरुषकोे पनि कोरोना रिपोर्ट पोजेटिभ भएको छ ।

ज्वरो आउने, श्वासप्रस्वासमा समस्या लिएर मंगलबार आइपुगेका उनको स्वाबको नमुना लिएर इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बिहीबार बेलुकी ७ः४० बजे मृत्यु भएको थियो ।

ज्वरो आएपछि उनी साउन ५ गते निजी क्लिनिकमा पुगेका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटलमा भर्ना भएका थिए ।
त्यहाँबाट सोही दिन कोरोना अस्पतालमा रिफर गरिएको थियो । उनको मृत्युपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको जनाइएको हो ।

त्यस्तै हिजो बिहान घरमै मृत्यु भएका वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषमा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसको संक्रमण मिल्दोजुल्दो लक्षण देखा परेको हुनाले घरका सदस्यले अस्पताललाई खबर गरेका थिए । नारायणी अस्पतालको टोली गएर स्वाब संकलन गरेको थियो । उनको बेलुका पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: