
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्।
जिल्लाको मेलम्ची नगरपालिका–११ मा गएराति पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । ३ जना अझै बेपत्ता छन्।
वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल निर्माणमा खटिएका कामदार बसेको घर गएराति पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए। एकजनाको जिवितै उद्दार गरिएको र पाँच जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बेपत्ता भएकाहरुको प्रहरी, सेना र स्थानीयले खोजी गरिरहेका छन्।
प्रहरीका अनुसार वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरी पहिरोमा पुरिएका हुन् । भारतिय नागरिक बारु साहको जिवितै उद्दार गरि अहिले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
यसैबीच, सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। राति सुतिरहेका बेला आएको पहिरोले घर पुरिँदा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
