आजदेखि काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा जोर–बिजोर प्रणाली

Share:

काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले आजदेखि सवारीसाधन संचालनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । गृहमन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै दुई सयभन्दा बढी सक्रिय संक्रमण केश भएका जिल्लाहरुमामा जोर–बिजोर प्रणाली लागू गरेको हो ।

अत्यावश्यक सेवा तथा ढुवानीका गाडीलाई भने जोर–बिजोर प्रणाली लागू नहुने गृह मन्त्रालयले जनाएको छ ।

हाल काठमाडौँ उपत्यकासहित कैलाली, पर्सा, रौतहट र महोत्तरीमा दुई सयभन्दा बढी सक्रिय संक्रमित छन्।

ती जिल्लाका सहरी इलाकामा जिल्लाभित्रसमेत बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावत बन्द गर्ने गृहमन्त्रालयले जनाएको छ।

कोरोना संक्रमण न्यूनीकरण गर्न यसअघि पनि जोरबिजोर प्रणाली लागू गरिएकोमा साउनबाट हटाइएको थियो।

यसैगरी, काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ बजदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाइका साथ लागू गरिने जनाइएको छ।

यस्तै गृह मन्त्रालयले संक्रमण बढेका १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको जनाएको छ ।

हाल स्याङ्जा, पर्सा, बारा, बाँके, सर्लाही र सप्तरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुला जिल्लाका संक्रमण देखिएका क्षेत्रमा मात्र निषेधाज्ञा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: