पोखरा महानगरको अनियमितता छानविनका लागि साझा पार्टी अख्तियारमा पुग्यो

Share:

पोखरा महानगरपालिकामा भएको अनियमतता छानबिन गर्नका लागि साझा पार्टी, कास्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयमा पत्र बुझाएको छ । साझा पार्टी कास्कीका संयोजक अर्जुन प्रसाद खनालको नेतृत्वमा गएको टोलीले पोखरा महानगरपालिकामा भएको आर्थिक हिनामिनाको आवश्यक अनुसन्धान गरिपाऊँ भन्दै पत्र बुझाएको हो । आयोगका तर्फबाट कार्यालय प्रमुख विपिन आचार्य र उपसचिव मेघनाथ रिजालले पत्र बुझेका थिए ।

आयोग प्रमुख आचार्यले महानगरको अनियमितता सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै यथाशीघ्र एक्शनमा जाने बताएको संयोजक खनालले जनाए ।

साझा पार्टी, कास्कीले बुझाएको पत्रमा निम्न बुँदा समेटिएको छ ।

१. महानगरपालिकाको राजश्व संकलन गर्ने तत्कालिन खाता रहेको बैंक मुक्तिनाथ विकास बैंकको खाता रोक्का गरी अनुसन्धान गर्नुपर्ने ।

२. महालेखा परिक्षणको कार्यालयको स्विकृति बिना चलाईएको राजश्व उठाउने सफ्टवेयर, साँग्रिला इन्फरमेटिक्स प्रा.लि. संगको साँठगाँठ सम्बन्धमा अनुसन्धान गर्नुपर्ने ।

३. आधुनिक बैंकिङ प्रणालीमा हरेक दिनको रकम बैंकमा दाखिला हुनुपर्ने तर १ वर्ष सम्म पनि भौचर आउनु तर रकम रकम नआउनु लुटको पराकाष्ठा भएको पाइएको ।

४. राजश्व र लेखा शाखाको बद्मासी र बद्नियतको अनुसन्धान हुनुपर्ने ।

५. स्थानिय निर्वाचन पछि महानगरको १ अर्व २६ करोड भन्दा बढि बेरुजुले यस घटना थप प्रस्ट्याएको।

६. महानगरको कर्मचारी, राजश्व तथा जनप्रतिनिधिहरुले बैंकमा दाखिला गरेको रकमको भौचर र राजश्वमा दाखिला गरेको भौचर दुई थरी बनाई वैधानिक ठगी गरेको हुनसक्ने ।

७. महानगरका मेयर मानबहादुर जिसीले १३ करोड नभएर १ करोड ७३ लाखको हिसाब नमिलेको भन्ने अभिव्यक्ति आफैमा ठूलो प्रमाण भएको पाइएको ।

८. सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा हुदाँ पनि महानगरको बदमास संरचना र यसको आधिकारिक व्यक्तिहरूबाट स्पष्टिकरण नआउनु ।

९. यस्ता खालका राज्य लुट यस महानगरपालिकामा सामान्य बन्दै गईरहेको अवस्थामा विभिन्न स्रोत र शक्ति परिचालन गरी हिसाब मिलाउन महानगर सम्लग्न देखिएको । त्यसैले रकम हिनामिनामा संलग्न हुनसक्ने राजश्व, लेखा र महानगरका कर्मचारी र जनप्रतिनिधिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने ।

माथि उल्लेखित विषयहरू जनतासंग सम्बन्धित जनताको करको दुरुपयोगको यथेष्ठ प्रमाण हो भन्ने साझा पार्टीको बुझाई छ । जनताको सेवाको नाममा देश लुटेर गद्दारी गर्ने जो सुकैलाई पनि कानुन अनुसार कारबाही र सजायको लागि साझा पार्टी कास्कीले जोडदार माग गरेको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: