
डोटी । डोटीको पुर्वी चौकी गाउँपालिका वडा नं १ फुलौटमा आज भएको बस दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ ।
बुधवार बिहान करिब ५ः३० वजे भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नं. को बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो । यस्तै ३१ जना घाइते भएका छन् । उनीहरुमध्य १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा अछाम जिल्ला बान्नीगढजयगढ गाउँपालिका–३ का ६० वर्षीय पदम साउद, मङ्गलसेन नगरपालिका–७ अछामका ५५ वर्षीया धनी शाही र चौरपाटी गाउँपालिका–७ मार्कु बस्ने ३० वर्षीय टीकाराम विक रहेका छन् ।
वर्षातका कारण सडक चिप्लो भएको र बस चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले बस चालक २६ वर्षीय हेमबहादुर खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
