
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६८१ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् । उनीहरू देशका विभिन्न अस्पतालबाट निको भएर घर फर्किएका हुन् ।
यससँगै डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।
२४ घण्टामा ११ हजार ५ सय २२ जनाको पिसिआर परीक्षण भएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार ११८ छ भने ७ हजार ९ सय ८७ जना संस्था आइसोलेसनमा छन्। ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा छन्।
हाल १३ हजार ५ सय ७१ जना क्वारेन्टीनमा छन् ।
भेन्टिलेटरमा ६ जना संक्रमितको उपचार भइरहेको छ भने आइसियूमा १ सय ३१ जना रहेको मन्त्रालयले जनाएको छ।
