
पोखरा । देशभरको मौसम आज (बिहीबार) सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेकाले मौसम बदली भएको हो ।
बदली सँगै आज धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको माहाशाखाले जनाएको छ ।
यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको माहाशाखाको सूचनामा उल्लेख छ ।
वर्षाका कारण देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन माहाशाखाले आग्रह गरेको छ ।
