
पोखरा । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार दिउँसो सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार प्रदेशका ३ जिल्लाका ४ पुरुष र १ महिला गरी थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार मनाङ निस्याङ– १ का ५१ वर्षीय पुरुष र चामे– ४ का ४९ वर्षीय पुरुष, पर्वत फलेवास– ७ का २२ वर्षीय पुरुष र फलेवास– ३ का ३५ वर्षीय पुरुष तथा बागलुङ– ३ की ५४ वर्षीया महिलामा कोरोना देखिएको हो ।
मनाङमा संक्रमण पुष्टि हुने मध्ये निस्याङका शिक्षक र चामेका स्वास्थ्यकर्मी रहेको निर्देशनालयले जानकारी दिएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय १३ पुगेको छ ।
प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ३९ पुगेको छ । हाल प्रदेशमा २६६ जना सक्रिय संक्रमित रहेका छन् ।
