ठूलो मात्रामा लागूऔषधसहित पोखराको रानीपौवाबाट एक जना पक्राउ

Share:

पोखरा । पोखराको रानीपौवाबाट प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका ११ रानीपौवा तुलसीमार्ग बस्ने २७ वर्षीय विशाल घमाललाई बिहीबार उनकै कोठाबाट पक्राउ गरेको हो ।

प्रहरीले घमालको साथबाट ३ किलो ४०० ग्राम सुकेको गाँजा, चरेश ३ सय ग्राम तथा ३ सय क्याप्सुल ट्रामाडोल बरामद गरेको वडा प्रहरी कार्यालय राम बजार प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

बैंकका पूर्व कर्मचारी समेत रहेका घमाललाई पक्राउ गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । प्रहरीले बैंकको नाम भने खुलाएको छैन ।

पक्राउ परेका घमाललाई थप अनुसन्धान तथा कारबाही प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यलय कास्की पठाईएको छ ।

कमेन्ट गर्नुहोस्
Share: