
पोखरा । पोखरामा दुई प्रहरी र एक महिलासहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा शुक्रबार बिहान कास्की सहित ४ जिल्लाका १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगर–३० की ५० वर्षीया एक महिला तथा १७ का २८ र २९ वर्षका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित दुबै पुरुष पर्यटक प्रहरी हुन् ।
यस्तै नवलपुर बिनय त्रिबेणी–१ का १७, ४०, ६१ र ६७ वर्षका ४ महिला तथा २० र ६२ वर्षका दुई पुरुष, देवचुली–१६ का ३० वर्षीय पुरुष र १५ का ५० वर्षीया महिलामा कोरोना देखिएको छ ।
लम्जुङको मस्र्याङ्दी–४ का ३१ वर्षीया महिला, बेशीसहर–८ का २७ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी–१२ का २२ वर्षीय पुरुष, ५ का ४२ वर्षीय पुरुष तथा ब्यास–३ का ३१ र ३८ वर्षका दुई पुरुषमा पनि कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नवलपुर देवचुली–१५ का संक्रमित महिला खानेपानी सप्लाई गर्ने संस्थामा कार्यरत कर्मचारी हुन् भने लम्जुङको मस्र्याङ्दी–४ का संक्रमित महिला भारतबाट आएकी हुन् । अन्य संक्रमित भने कन्ट्याक ट्रेसिङमा परेका बताइएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २२ पुगेको छ । हालसम्म १ हजार ६७२ जना निको भएर घर फर्किसकेको पनि निर्देशनालयले जनाएको छ ।

