
स्याङ्जा । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।
काठमाडौँबाट स्याङ्जा चापाकोट जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ नगरपालिका–५ मजकोटमा आज बिहान करिब ५ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट १० का २५ वर्षीय श्याम पङ्गेनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएका उनीहरुको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
यस्तै दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा चापाकोट–९ की २८ वर्षीया पवित्रा पोखरेल र एम्बुलेन्स चालक वडा नं ९ कै ३१ वर्षीय सुरेन्द्र भण्डारी रहेका छन् । उनीहरुलाई गह्रौ प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको बताइएको छ ।
घाइतेमध्ये पवित्रा गर्भवती रहेको र काठमाडौँबाट घर आएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स सडकदेखि अन्दाजी २५० मिटर तल खसेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
