
पोखरा । कोरोना कहरका कारण आफ्नो व्यापार व्यवसाय बन्द हुने अवस्था आएपछि पोखराका युवा व्यवसायीहरुले बंगुर पालन व्यवसाय थालेका छन् ।
‘युवा व्यवसायीहरु बीच साथ, सहयोग र सहकार्यका लागि’ भन्ने मुल उद्देश्यका साथ एक वर्ष अगाडी स्थापना भएको युथ कम्युनिटी क्लव (Ycc Nepal) कास्कीले मित्रता इन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्रा.लि. स्थापना गरी पोखरामा बंगुर पालन सुरु गरेका हुन् । युवा व्यवसायीहरुले पोखरा महानगरपालिकाको ३३ नम्बरमा पर्ने सहरेतरामा रहेको पिगपार्कमा ४ हजार सात सय ६० स्क्वारफुट क्षेत्रफलमा बंगुर पालन सुरु गरेको हो ।
युथ कम्युनिटी क्लव पोखरामा आवद्ध युवा व्यवसायीहरु सम्मिलित भइ ८४ लाखको लगानिमा बंगुर पालन शुरु गरिएको मित्रता एग्रो प्रा.लि.का निर्देशक जयन्ती मोक्तानले बताइन् । मोक्तानका अनुसार युथ कम्युनिटी क्लव आवद्ध युवा व्यवसायीहरुलाई समेटेर मित्रता इन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्रा.लि. स्थापना गरी बंगुर पालन व्यवसाय सुरु गरिएको हो । लकडाउनका कारण आफुहरुको व्यवसाय नै धरापमा परेका कारण धेरै थोरै रकम संकलन गरी आफुहरुले अबको पाटो कृषी जन्य बस्तुको उत्पादन र बिक्री वितरणबाट दिगो विकास सम्भव हुने भएकाले युवाहरुलाई कृषीतर्फ उन्मुख गराउन पहिलो चरणमा बंगुर पालन सुरु गरिएको मोक्तानले बताइन् ।
२० देखी ४५ वर्ष उमेर समुहका युवाहरुलाई क्लवमा समाहित गराई मित्रता एग्रो प्रालिमा शेयर हाल्न सकिने भएकाले कुनैपनि युवाहरुले सानो लगानीमा कृषी कार्यक्रममा सहभागीता जनाउन सक्ने उनको भनाइ रहेको थियो । हाल १ सय १५ जना युवा व्यवसायीहरुबाट बंगुर पालन सुरु गरिएको भएता पनि निकट भविष्यमा तरकारी उत्पादन, कृषी, पशुपन्क्षी जन्य सामाग्रीको उत्पादन र विक्री वितरण गर्ने लक्ष्य प्रालिले दिएको निर्देशक मोक्तानले जानकारी दिइन् ।
युथ कम्युनिटी क्लवले युवाहरुलाई स्वदेशमा त्यसमा पनि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न युवाहरुलाई प्रेरित गर्ने क्वलका अध्यक्ष पूर्ण श्रेष्ठले बताए । श्रेष्ठका अनुसार क्लव स्थापनाको एक वर्षभित्रै त्यसमा पनि लकडाउनको समयमा आफुहरुले बंगुरपालन सुरुवात गरेको बताउदै आगामी पांच वर्ष भित्रमा कास्कीमा मात्र १० हजार सदस्यता वितरण गर्ने योजना रहेको छ । क्लवमा आवद्ध हरेक सदस्यले इन्भेष्टमेन्ट कम्पनी मार्फत सञ्चालनमा आएको एग्रो प्रालिमा शेयर राख्न पाउनेछन् ।
पोखरामा स्थापना भएको युथ कमिटि क्लवले पाँच वर्षभित्र नेपालको सात वटै प्रदेशमा शाखा विस्तार गरी हरेक प्रदेशमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए । हाल क्लवमा ३ सय ५० जना सदस्य रहेको भएतापनि एग्रोमा भने १ सय १५ जनाले शेयर राखेका छन् भने अन्य सदस्यहरु समेत यसमा थपिदै गइरहेका छन् ।
क्लवमा आवद्ध सदस्यले २५ हजार देखी १ लाख सम्म शेयर मार्फत लगानी गर्न सक्ने क्लवका कोषाध्यक्ष बिकास गुरुङले बताए । क्लवले स्वदेशमा रहेका युवा व्यवसायी सँगै विदेशबाट नेपाल फर्केर केही गर्न चाहनेहरुलाई लक्षित गरी पनि उत्पादनमुलक क्षेत्रहरु जस्तै पशुपालन, कुखुरा, हाँस, माछा, मौरी, बंगुर पालन, तरकारी जन्य बस्तुको उत्पादन तथा बिक्री वितरणका लागी समेत काम गर्ने लक्ष्य राखेको छ ।
त्यसैगरी मित्रता एग्रो प्रा.लि.ले पारिवारीक र निर्वाहमूखि व्यवसायलाई विविधीकरण, व्यवसायीकरण, औद्योगिक एवं प्रतिस्पर्धी र दिगो बनाउन प्रभावकारी सेवा प्रवाह एकल तथा सामुहिक लगानी बृद्धिमा सहजीकरण गर्ने, विदेश पलाएन भैरहेका तथा बेरोजगार युवा जनशक्तिलाई नेपालमै आन्मनिर्भर बनाउने स्तरको युवाहरुको ज्ञान, सीप, क्षमताको बृद्धिको लागि तालिम, गोष्ठी, सेमिनार सञ्चालन गरी उद्यमशिल समाजको निर्माण गर्ने उद्देश्य लिएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका व्यावसायमा आवद्ध उद्यमीहरुसँग सम्बन्ध विकास, विस्तार र समन्वय गरी आपसी सहयोग तथा विचार विमर्ष गरी नेपालमा युवाहरुका लागि विकास सँग सम्बन्धित विषयमा राष्ट्रिय एवं अन्तराष्ट्रिय व्यवसायीसँग आवश्यकता अनुसार प्राविधिक सेवा प्रदान गर्ने प्रालिको उद्देश्य रहेको सञ्चालकले जनाएको छ ।
एग्रो प्रा.लिले युवा व्यवसायीको ज्ञान, सीप, क्षमतालाई समाजमा प्रयोग गरी त्यसमा उत्पन्न हुने समस्यालाई समाधानका लागी सहयोग गर्ने र संस्थाका सदस्यहरुमा दैनिक प्रकोप पीडित तथा घातक रोगबाट समस्यामा परेमा संस्था भित्रका सदस्यहरुबाट सहयोग उपलब्ध समेत गराउने लक्ष्य लिएको छ । सम्पूर्ण युवाहरुलाई व्यवसाय प्रति आस्थावान बनाई राष्ट्रलाई सभ्य सम्मृद्धि बनाउन प्रयत्न गर्ने प्रालिको मुख्य लक्ष्य रहेको छ ।
