महामारीमा एनआरएनएको महत्वपूर्ण भूमिकाः मन्त्री ज्ञवाली

Share:

काठमाडौँ । मध्यपूर्वका ४ देशमा लागु हुने आईएलओको परियोजनाको लागि गैरआवासीय नेपाली संघले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली सँग छलफल गरेको छ ।

मध्यपुर्वका देशहरुमा रहेका नेपालीहरुको समस्याको बारेमा केन्द्रित भर्चुअल छलफललाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले कोभिड–१९ कारण उत्पन्न असहज परिस्थितिमाझ गैरआवासीय नेपाली संघले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।

उनले महामारीका बेला विदेशस्थित गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली दूतावासबीच निकै राम्रो सहकार्य भएको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने उल्लेख गरे ।

विदेशबाट फर्किएका नेपालीहरुलाई नेपालमै उनीहरुको क्षमता र सीपका अनुसार रोजगारीको वातावरण तयार गर्न सरकारले रणनीति बनाइसक्न लागेको र कतिपय योजना समेत बनिसकेको उनको भनाई थियो । नेपाल फर्केका नेपालीहरुको ज्ञान र सीपको तथ्यांक संकलन गर्ने कार्यमा गैरआवासीय नेपाली संघले सहकार्य गर्न सक्ने मन्त्री ज्ञवालीले बताए ।

छलफलमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले राज्य सरह संघप्रति अपेक्षा राख्ने गरेको अनुभव सुनाउँदै सरकारसँग सोही तहको सहकार्यको अपेक्षा राखेको बताए । संघको साधन र श्रोतले सबै समस्यालाई समाधान गर्न नसक्ने भएको कारणले अन्तर्राष्ट्रिय समूदायसँग सहकार्य सुरु गरिएको जानकारी समेत उनले गराए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वैदैशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीले कोरोना संक्रमण पछि समस्यामा परेका नेपालीहरुको सहयोगको लागि ती देशमा आइएलओ सँग सहकार्य गरेर स्वयंसेवा तथा कानुनी परामर्श सहितको ५ महिने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।

बैठकमा गैरआवासीय नेपाली संघका महासचिव डा.हेम राज शर्माले कोभिड–१९ को कहरका बीच संघको आयोजनामा हुने दोस्रो विज्ञ सम्मेलनको बारेमा जानकारी दिए । उनले विदेशमा स्वास्थ्य क्षेत्रमा सक्रिय नेपाली चिकित्सक एवं विज्ञहरुको सहयोग लिएर अघि बढ्न नेपाल सरकारलाई सुझाव दिए ।

संघको सक्रियतामा शुक्रबार सम्पन्न बैठकमा कतार, मलेसिया, युएई र साउदी अरबस्थित नेपाली राजदुतहरु, संघका केन्द्रीय पदाधिकारी, श्रम सहचारी, राष्ट्रिय समितिका अध्यक्षहरु लगायतको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
Share: